काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र गुड कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकले मुक्तिनाथ विकास बैंकबाट आवास कर्जा लिन सक्नेछन्। समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्ड पूरा गरेमा बेसरेटमा शून्य दशमलव २५ प्रतिशतसम्मको प्रिमियम थप गरी आवास कर्जा लिन सक्नेछन्। कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ।
सम्झौताबाट कर्मा रेसिडेन्सिजका ग्राहकलाई घर तथा अपार्टमेन्ट खरिदका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने बैंकले जनाएको छ। कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्याङ्कन, सम्बन्धित सम्पत्तिको मूल्याङ्कन तथा कानुनी र प्राविधिक परीक्षणका आधारमा बैंकको प्रचलित नीतिअनुसार उपलब्ध हुनेछ।
मुक्तिनाथ विकास बैंकले आवास कर्जासँगै अटो, कृषि तथा एसएमईलगायत विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको जनाएको छ।




