काठमाडौँ । सरकारले सेयर बिक्रीबाट हुने नाफामा लाग्ने पूँजीगत लाभकर घटाउने प्रस्ताव पारित गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णीम वाग्लेले अघि सारेको कर घटाउने प्रस्ताव स्वीकृत गरेको हो।
सरकारको निर्णयसँगै सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरको दर घट्ने भएको छ। प्रस्तावअनुसार एक वर्षभित्र सेयर बिक्री गर्ने लगानीकर्ताले तिर्नुपर्ने कर ५ प्रतिशत र एक वर्षभन्दा बढी अवधि सेयर होल्ड गरेर बिक्री गर्ने लगानीकर्ताका लागि ३.५ प्रतिशत कायम गरिनेछ।
यसअघि चालु आर्थिक वर्षको बजेटले एक वर्षभित्र बिक्री गरिएको सेयरबाट भएको नाफामा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधि होल्ड गरिएको सेयर बिक्रीबाट भएको नाफामा ७.५ प्रतिशत पूँजीगत लाभकर तोकेको थियो।
पूँजीगत लाभकर घटाउने विषय अर्थमन्त्री वाग्लेले सोमबार सार्वजनिक गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३’ मा समेत समेटिएको थियो। कार्ययोजनामा करको दर घटाउने विषयलाई पुँजी बजारमा तत्काल प्रभाव पार्ने सुधारका रूपमा प्रस्ताव गरिएको थियो।
मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत भए पनि नयाँ दर तत्काल कार्यान्वयनमा आउने छैन। निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्रै नयाँ कर व्यवस्था लागू हुनेछ।
सरकारले करको दर घटाएपछि सेयर कारोबारको लागत कम हुने र लगानीकर्ताको सहभागिता बढ्ने अपेक्षा गरेको छ। बजारमा कारोबार रकम तथा तरलता बढाउन र लगानीकर्ताको मनोबल सुधार गर्नसमेत कर कटौतीले सहयोग पुग्ने सरकारको दाबी छ।
पूँजी बजार सुधारका लागि सरकारले अघि सारेको कार्ययोजनामा करसम्बन्धी व्यवस्थासँगै बजारको संरचनागत सुधार, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार तथा नयाँ वित्तीय उपकरणको विकासलगायत विषय पनि समेटिएका छन्।




