रसुवागढी–तातोपानी बन्द हुँदा कोरलानाकाबाट उठ्यो १५ दिनमै १ अर्ब ७८ करोड राजस्व

मुस्ताङ । रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि उत्तरी कोरलानाका प्रमुख वैकल्पिक मार्ग बनेको छ । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण दुवै नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको न्हेचुङस्थित भन्सार कार्यालयमा चिनियाँ मालवस्तु तथा विद्युतीय सवारीसाधनको आयात बढेको हो ।

भदौ १० गतेदेखि भदौ २५ गतेसम्मको १५ दिनमा मात्रै कोरलानाका हुँदै आएका मालवस्तु तथा विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबाट १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख विदुर चुडालले बताए । पछिल्लो समय दैनिक औसत ३० करोड रुपैयाँ हाराहारी राजस्व उठिरहेको उनले जानकारी दिए ।

शुक्रबार मात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको थियो । भदौ १० देखि २५ गतेसम्म ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारीसाधन कोरलानाका हुँदै नेपाल भित्रिएका छन् ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै भित्रिएका मालवस्तु तथा विद्युतीय सवारीसाधनबाट कुल २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । भदौ ९ गतेसम्म भने १३३ कन्टेनर र १६३ विद्युतीय सवारीसाधन मात्रै भित्रिएका थिए ।

कोरलानाका यसअघि उपल्लो मुस्ताङका बासिन्दाका लागि वर्षभरि खुला गरिँदै आएको थियो । तातोपानी र रसुवागढी नाकामा बाढीपहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध भएपछि सरकारले गत वर्ष भदौ ३१ गतेदेखि यसलाई वैकल्पिक निकासी–पैठारी नाकाका रूपमा सञ्चालनमा ल्याएको थियो ।

कोरलानाका हुँदै हुने व्यापार बढेसँगै मुस्ताङ भन्सारको राजस्व संकलनसमेत उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । उक्त वर्ष १४ अर्ब ४१ करोड रुपैयाँ बराबरको मालवस्तु पैठारी र २० करोड ५० लाख रुपैयाँ बराबरको वस्तु निकासी भएको थियो ।

गत वर्ष कोरलानाका हुँदै ३ हजार २२३ विद्युतीय सवारीसाधन र १ हजार ८७३ कन्टेनरको भन्सार जाँचपास भएको थियो । पछिल्लो समय चीनसँगको व्यापारका लागि वैकल्पिक नाकाका रूपमा कोरलाको भूमिका बढ्दै गएसँगै यहाँको पूर्वाधार, सडक तथा भन्सार व्यवस्थापनमा थप दबाबसमेत बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *