काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा असोज १ देखि ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी’ आयोजना हुने भएको छ । असोज ४ गतेसम्म चल्ने एक्स्पोमा ७७ लाख ५० हजार रुपैयाँदेखि घर तथा जग्गा खरिद गर्न सकिने विकल्पसहित विभिन्न छुट र वित्तीय सुविधा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
एक्स्पोमा जग्गा खरिदमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ भने ५ हजार १ रुपैयाँमै टोकन बैना गर्न सकिनेछ । बैना गरेपछि जग्गा चित्त नबुझे रकम फिर्ता गर्ने व्यवस्था पनि गरिएको आयोजकको भनाइ छ ।
मध्यम तथा श्रमजीवी वर्गलाई लक्षित गरी काठमाडौं आसपासका क्षेत्रमा तीन बेडरुमसहितको दुईतले घर करिब १ करोड ४० लाख रुपैयाँसम्ममा उपलब्ध गराउने अवधारणासमेत एक्स्पोमा प्रस्तुत गरिनेछ । ठूलो संख्यामा घर निर्माण गरी कम नाफामा बिक्री गर्ने अवधारणामार्फत लागत घटाउने योजना रहेको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरले बताए ।
एक्स्पोमा घरजग्गासँगै बैंक तथा वित्तीय संस्थाको सहभागिता रहनेछ । सम्भावित खरिदकर्ताले आवास कर्जा, ब्याजदर तथा वित्तीय व्यवस्थापनबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् । निर्माण सामग्री, फर्निचर, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा तथा अन्य निर्माण प्रविधिसमेत प्रदर्शनीमा राखिनेछ ।
घर निर्माणसम्बन्धी परामर्शका लागि इन्जिनियर, आर्किटेक्ट तथा निर्माण क्षेत्रका विज्ञको सहभागिता रहनेछ । भूकम्पप्रतिरोधी घर, डिजाइन, संरचनागत सुरक्षा र लागत व्यवस्थापनबारे समेत जानकारी लिन सकिने आयोजकले जनाएको छ ।
यसपटकको एक्स्पोलाई प्रविधिमैत्री बनाउँदै डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क, डिजिटल डिस्प्ले र भर्चुअल रियालिटीको प्रयोग गरिनेछ । कागजी सामग्रीको प्रयोग घटाएर ‘पेपरलेस एक्स्पो’ बनाउने तयारी गरिएको छ ।
एक्स्पोमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा युवा उद्यमीका लागि तालिम र व्यावसायिक परामर्शसमेत सञ्चालन गरिनेछ । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नाराका साथ नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको आयोजकले जनाएको छ ।






