काठमाडौँ। नेपाली कांग्रेसको देउवा समूहले समानान्तर अधिवेशन गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
कांग्रेस संस्थापन इतर समूहको महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुँइकेलले शनिबार विज्ञप्ति जारी गर्दै देशका सबै जिल्लामा अधिवेशन गर्नका लागि केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी गराएका हुन्।
नेपाली कांग्रेसले आगामी असोज १५ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशनको आयोजना गरेको छ।
देउवा समूहले भने आगामी मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने निर्णय गरेको छ। उक्त महाधिवेशनका लागि असोज १५ गतेबाट वडा अधिवेशन थाल्न देउवा समूहले जिल्लामा खटाएका केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएको छ।








