काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारभन्दा ठूलो बिचौलिया हो ? भन्दै प्रश्न गरिन्।
उनले भनिन्, ‘मलाई दिनकै पसलमा ग्यास छ तर पसलेले ग्यास बेच्न मान्दैनन् भनेर फोन आउँछ। यो त ल्हासामा सुन छ, कान मेरो बुच्चै छ जस्तो भएन र ? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त ?’
पसलमा ग्यास हेर्दै भोकभोकै जनता बस्नुपर्ने दिन हेर्न जनताले दुई तिहाइको मत दिएर पठाएको हो ? भन्दै प्रश्न गरिन्।
उनले थपिन्, ‘यदि साँच्चिकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नुपर्यो। होइन भने महिनापिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ।’






