काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलालाई भर्ना नगरेपछि अस्पताल परिसरबाहिरै प्रसूति भएको घटनामाथि सरकारले छुट्टाछुट्टै दुईवटा छानबिन समिति गठन गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले शुक्रबार संसद्मा घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सप्तरीबाट छुट्टाछुट्टै छानबिन समिति गठन गरिएको बताएकी हुन्।
राजविराज नगरपालिका–१४ पर्साहीकी ३० वर्षीया बबिता कुमारी पासवान प्रसव व्यथा लागेपछि गत भदौ २४ गते बिहान करिब २ बजे गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन्। अस्पतालमा भर्ना गर्न आवश्यक प्रक्रिया अघि बढे पनि अन्ततः उनले अस्पतालको मूल गेटबाहिरै बच्चा जन्माएको घटना सार्वजनिक भएको हो।
मन्त्री मेहताका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले डा. अजय साहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। उक्त टोली राजविराज पुगेर घटनाको स्थलगत अध्ययन तथा अनुसन्धान अघि बढाइसकेको उनले संसद्मा जानकारी दिइन्। जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छुट्टै छानबिन समिति गठन गरेको छ।
अस्पतालबाट प्राप्त प्रारम्भिक विवरण उद्धृत गर्दै मन्त्री मेहताले पासवानलाई प्रारम्भिक परीक्षणपछि प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको बताइन्। तर, आवश्यक जाँचको रिपोर्ट उपलब्ध नभएकाले थप परीक्षण गर्न सुझाव दिइएको अस्पतालको प्रारम्भिक विवरणमा उल्लेख रहेको उनले जानकारी दिइन्।
अस्पतालका अनुसार पासवान र उनकी कुरुवा अस्पतालले उपलब्ध गराएको शय्यामा नबसी बाहिरिएका थिए। त्यसपछि बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिरै उनको प्रसूति भएको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्री मेहताले बताइन्।
प्रसूति भएपछि आमा र नवजात शिशुलाई पुनः प्रसूति वार्डमा ल्याइएको र ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काट्नुका साथै आवश्यक स्याहार तथा उपचारका लागि अस्पतालमै बस्न आग्रह गरेको अस्पतालको दाबी छ। तर, उक्त आग्रह अस्वीकार गर्दै आमा र शिशु घर गएको प्रारम्भिक विवरणमा उल्लेख रहेको मन्त्रीले बताइन्।
घटनाबारे जानकारी पाएलगत्तै मन्त्रालयले तत्काल खोजी गरी आमा र शिशुलाई अस्पताल ल्याएर उपचार गर्न निर्देशन दिएको मेहताले जानकारी दिइन्। अहिले दुवैलाई अस्पतालको बेड नम्बर २२ मा भर्ना गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको उनले बताइन्।
सरकारका अनुसार हाल आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य छ।
घटनाको छानबिनबाट दोषी देखिने जोसुकैलाई पनि कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता मन्त्री मेहताले संसद्मा जनाइन्। मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रसूति तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो।






