अपर म्याग्दी-१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’, भौतिक प्रगति ५६ प्रतिशत

म्याग्दी । म्याग्दीमा निर्माणाधीन त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फ निर्माण भइरहेको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङतर्फ निर्माणाधीन विद्युत्गृह जोड्ने सुरुङ बुधबार छेडिएको हो।

आयोजना प्रमुख ज्योतिवकुमार केसीका अनुसार छहरीको अडिटदेखि धवलागिरि–४ खाम्लास्थित बाँधतर्फ जोडिने दुई हजार पाँच सय छ दशमलव उनान्चालीस मिटर लामो सुरुङ ब्रेक थ्रु भएको हो। उनका अनुसार बाँधतर्फ निर्माण गर्नुपर्ने कुल तीन हजार दुई सय त्रियासी दशमलव बत्तीस मिटर सुरुङमध्ये हालसम्म एक हजार नौ सय त्रिहत्तर मिटर निर्माण सम्पन्न भएको छ।

बाँकी सुरुङ निर्माणको काम पनि केही महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजना प्रमुख केसीले बताए। उनका अनुसार आयोजनाको समग्र भौतिक प्रगति हालसम्म छपन्न प्रतिशत पुगेको छ भने आगामी एक वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनाको सिभिल निर्माणको जिम्मा लिएको लुना बिल्डर्स एन्ड कन्ट्र्याक्टरले २०८० चैत १९ मा सम्झौता गरेको थियो। कम्पनी २०८१ वैशाख २८ मा कार्यक्षेत्रमा परिचालित भएको थियो भने सोही वर्षको भदौदेखि मुख्य सुरुङ निर्माणको काम सुरु गरेको थियो।

आयोजनामा बाँध, सुरुङ र विद्युत्गृह निर्माणसँगै हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फका कामलाई पनि तीव्रता दिइएको छ। यद्यपि बर्खायाममा आयोजनाको पहुँचमार्गअन्तर्गत पर्ने बेनी–दरबाङ सडकको फापरखेत पहिरो, दुखुखोला सडक पुलमा देखिएको जोखिम तथा शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइले आयोजनाको निर्माण कार्य प्रभावित हुँदै आएको छ।

अपर म्याग्दी–१ निर्माणका लागि सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकले ऋण लगानी गर्नेछन्। प्रवर्द्धक कम्पनी र सर्वसाधारणबाट शेयरमार्फत समेत लगानी जुटाइने आयोजनाको कुल लागत एघार अर्ब तेइस करोड सत्ताइस लाख छ हजार रुपैयाँ रहेको छ।

आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ। भारवाङदेखि करिब एक दशमलव पाँच किलोमिटर लामो एक सय बत्तीस केभी क्षमताको प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको एक सय बत्तीस केभी क्षमताको सबस्टेसनमा जोडिनेछ।

आयोजनाबाट वार्षिक औसत तीन सय पन्ध्र दशमलव शून्य एक गिगावाट घण्टा विद्युत् उत्पादन हुने र उक्त विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ।

रन अफ द रिभर प्रकृतिको यस आयोजनाको आउटलेटदेखि विद्युत्गृहसम्मको उचाइ एक सय छयानब्बे मिटर रहेको छ। आउटलेटबाट विद्युत्गृहसम्म पानी पुर्‍याउन छ सय बयानब्बे मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ।

ऊर्जा इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सोलुसन्स प्रालि आयोजनाको परामर्शदाता रहेको छ। मेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामका लागि ठेकेदार छनोट प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ। अपर म्याग्दी–१ ऊर्जा डेभलपर्स प्रालिअन्तर्गतको आयोजना हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *