काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक एवं सांसद क्रान्तिशिखा धितालले जेनजी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा आयोजित स्मृति कार्यक्रमको शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन् ।
वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (पुरानो संसद् भवन) अगाडि आयोजित कार्यक्रमले सहिद र घाइतेहरूको अपमान गरेको उनको तर्क छ ।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै सांसद धितालले कार्यक्रमको व्यवस्थापन, त्यहाँ देखिएका दृश्य र पछिल्लो समय बदलिएको राजनीतिक व्यवहारमाथि कडा प्रश्न उठाएकी हुन् ।
सांसद धितालले कार्यक्रमको ढाँचा र त्यहाँ धर्मगुरुहरूको उपस्थितिलाई लिएर आश्चर्य व्यक्त गर्दै लेखेकी छन् – ‘मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो, जसले आफ्ना सन्तान गुमाएका छन् र जसका शरीरमा आज पनि आन्दोलनका घाउ छन् ?’
आज जेनजी आन्दोलनको स्मृति सभा कार्यक्रमअन्तर्गत नयाँ बानेश्वरको पुरानो संसद् भवन अगाडि जेनजीहरूको बलिदानको सम्झना कार्यक्रम गरिएको थियो । जुन मञ्चको फोटो अहिले भाइरल भएको छ । उक्त मञ्चमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँगै दुई जना धर्मगुरु पनि सँगै देखिएका थिए । सामाजिक सञ्जालमा कार्यक्रमको तस्बिर भाइरल भएपछि धितालले यसप्रति आक्रोश व्यक्त गरेकी हुन् ।
दीप प्रज्वलन कार्यक्रममा दुई धार्मिक पात्र श्रीनिवास आचार्य र विष्णु प्रपन्नाचार्य सहभागी थिए ।
नेपाली समाजले पछिल्लो एक वर्षमा अरूको भावना बुझ्ने क्षमता गुमाउँदै गएकोमा पनि धितालले चिन्ता व्यक्त गरिन् । उनले लेखेकी छन्– ‘सायद नेपाली समाजले पछिल्लो एक वर्षमा गुमाएको सबैभन्दा ठुलो कुरा नै अरूले के महसुस गरिरहेका छन् भन्ने कुराको महसुस गर्नै नसक्ने, गर्नै नमान्ने र गर्नै नखोज्ने प्रवृत्ति हो ।’
गत वर्ष प्रेस स्वतन्त्रता, निरंकुशताविरुद्ध र विधिको शासनका लागि सडकमा उत्रिएको स्मरण गर्दै उनले अहिलेको प्रवृत्ति फेरिएको बताइन् । उनले सुध्रिनुपर्ने काम अरूले मात्र नभई आफूहरूले पनि गर्नुपर्ने भन्दै पहिले सरकारको दमनविरुद्ध बोल्नेहरू नै अहिले आफूमाथि प्रश्न गर्नेलाई धम्की र चेतावनीको भाषा प्रयोग गर्न थालेको गुनासो गरिन् । उनले प्रश्न गर्दै लेखेकी छन्– ‘के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौँ ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्यत छौँ ?
संसाद धितालले आन्दोलनको नेतृत्व गर्ने र सरकारलाई प्रश्न गर्नेहरूले नै कार्यक्रमको गलत ढाँचामाथि हस्तक्षेप गर्न नसक्नु दुखद भएको टिप्पणी गरिन् ।




