रसुवा बाढी पीडितका लागि नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं। रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नानेपाल अटोमोबाइल इमपोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ५० लाख रुपैयाँ सहयोग गरेको छ। नाइमाको पूर्वनिर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो।

रकम हस्तान्तरण कार्यक्रममा नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, नाइमाका प्रमुख सदस्य सिमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमा कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमा डिजिटल एजेन्सी दिपालका उत्सव कार्कीको सहभागिता रहेको थियो।

विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायलाई राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यो योगदानले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलतालाई थप उजागर गरेको छ।

यस मानवीय कार्यमा साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण सदस्य कम्पनीहरूप्रति नाइमाले विशेष आभार व्यक्त गरेको छ। विपद्को घडीमा प्रभावित समुदाय र राष्ट्रको साथमा रहँदै राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा निरन्तर सहयोग गर्ने नाइमाले प्रतिबद्धता जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *