काठमाडौं — अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सोमबार मधेस वारियर्सलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा अन्नपूर्णले मधेसलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा हरायो ।
अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए । उनी लगातार दोस्रो खेलमा उक्त पुरस्कार जित्न सफल भएका हुन् । यसअघि काठमाडौं रेड्सविरुद्धको खेलमा पनि उरनबायर नै ‘म्यान अफ द म्याच’ बनेका थिए ।
तीन खेलबाट अन्नपूर्णले दुई जित हात पारेको छ । पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ ले पराजित भएको अन्नपूर्णले दोस्रो खेलमा काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।
मधेस वारियर्स भने प्रतियोगितामा जितविहीन छ । तीन खेल खेलेको मधेस पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१ तथा दोस्रो खेलमा काठमाडौं रेड्ससँग ३–२ ले पराजित भएको थियो ।
सोमबारै भएको अर्को खेलमा कर्णाली शिवराजले सगरमाथा स्म्यासर्सलाई ३–२ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित हात पार्यो ।
कर्णालीले २५–१६, २३–२५, २५–२३, १९–२५ र १५–९ को सेटमा सगरमाथालाई हराएको हो । कर्णालीका मार्की खेलाडी पहल गहतराज ‘म्यान अफ द म्याच’ घोषित भए ।
यो खेलअघि सगरमाथा पनि अपराजित थियो । दुवै टोलीले तीन–तीन खेल खेलिसकेका छन् ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गरेको प्रतियोगितामा ६ पुरुष टोली सहभागी छन् । लिग चरणमा सबै टोलीले एकअर्काविरुद्ध एक खेल खेल्नेछन् । लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनल पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् ।
एनभीएलको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । आयोजकका अनुसार यो नेपाली भलिबलको इतिहासमै सर्वाधिक पुरस्कार राशि हो । विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगिताको फाइनल भदौ २७ गते हुनेछ ।




