झापा — जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका अर्जुनधारा नगरपालिका–११ का ज्ञानिन्द्र (गोपाल) सेढाईंको परिवारले एक वर्ष पुग्न लाग्दा पनि छोराको मृत्युको पीडा भुल्न सकेको छैन । उनीहरूको मनमा अझै एउटै प्रश्न छ—गोपाललाई गोली किन प्रहार गरियो ?
गोपालको स्मृतिमा परिवार भावुक मात्रै छैन, उनीहरूले उनको बलिदानी खेर नजाओस् र फेरि कुनै बाबुआमाले छोराको शव बोक्नुपर्ने अवस्था नआओस् भन्ने कामना गरिरहेका छन् ।
८३ वर्षीय बुबा धनपति सेढाईंका लागि छोराको मृत्युको पीडा अझै ताजा छ । छोराको सम्झनासँगै उनलाई मुलुकमा फेरि अशान्ति र आन्दोलनको अवस्था सिर्जना हुने हो कि भन्ने चिन्ता पनि थपिएको छ ।
‘मेरो छोरा दोषी थिएन । उसलाई किन गोली हानियो भन्ने प्रश्नको जवाफ अझै मेरो मनमा छ,’ धनपतिले भने, ‘अब फेरि कुनै बाबुआमाले हामीले जस्तो पीडा भोग्नु नपरोस् ।’
देशका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भइरहेका बेला फेरि जेनजी पुस्ताले आन्दोलन गर्न लागेको भन्ने चर्चा सुन्दा आफू डराउने गरेको उनले बताए ।
‘देशमा अहिले बाढीको ताण्डव छ । मानिसहरू दुःखमा छन् । यस्तो बेलामा फेरि जेनजीले आन्दोलन गर्ने भन्ने हल्ला सुन्छु,’ उनले भने, ‘सरकारले युवाका माग सुनेर समाधान गरोस् । कसैको रगत बगाएर परिवर्तन खोज्ने अवस्था फेरि नआओस् ।’
गोपाल गत वर्ष भदौ २४ मा जेनजी आन्दोलनका क्रममा बिर्तामोडमा प्रहरीको गोली लागेर मारिएका थिए । त्यस दिन बिहान रक्तदान गरेपछि उनी बुबालाई उपचारका लागि शनिश्चरे अस्पताल पुर्याएर घर फर्किएका थिए । परिवारसँग खाना खाएपछि उनी साथीहरूसँग बिर्तामोड बजार पुगेका थिए ।
आन्दोलनमा सहभागी भएका गोपाल छातीमा गोली लागेर गम्भीर घाइते भएपछि उपचारका लागि बिएण्डसी मेडिकल कलेज लगिएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
छोराको मृत्युले सेढाईं परिवारको एउटा सपना पनि अधुरै रह्यो । गोपालले चार वर्षअघि आफ्नै लागि पक्की घर बनाएका थिए । बुढेसकालमा छोराको सहारामा बस्ने र घरमा बुहारी भित्र्याउने सपना देखेका धनपति र उनकी पत्नी गुनमायाका लागि अहिले त्यही घर सम्झनाको घर बनेको छ ।
‘मंसिरमा छोराको बिहे गर्ने तयारी थियो । घरमा नयाँ बुहारी आउने र खुसी छाउने सपना देखेका थियौं,’ धनपतिले भने, ‘तर सबै सपना चकनाचुर भयो । छोरा गयो, हाम्रो सहारा गयो ।’
छोराको मृत्युको पीडा बोकेका धनपतिलाई अहिले अर्को चिन्ताले सताएको छ—कतै फेरि कुनै युवाले ज्यान गुमाउनुपर्ने अवस्था त आउँदैन ?
उनी आन्दोलन र विरोधको अधिकारको विपक्षमा भने छैनन् । तर जनताको आवाज सुन्ने र समस्या समाधान गर्ने जिम्मेवारी सरकारको भएको उनको भनाइ छ ।
‘सरकारले जनताको कुरा सुन्नुपर्छ । युवाको माग बुझ्नुपर्छ । समस्या छ भने वार्ताबाट समाधान गर्नुपर्छ,’ उनले भने, ‘गोपालहरू मर्नुपर्ने गरी कुनै आन्दोलन नहोस् ।’
गोपालकी दिदी तुलसा सेढाईं पनि भाइको सम्झनामा भावुक हुन्छिन् । उनका लागि गोपाल भाइ मात्र थिएनन्, साथी पनि थिए । समाज परिवर्तनका विषयमा उनीसँगै छलफल गर्ने गरेको तुलसा सम्झन्छिन् ।
‘हामीले नै समाज बदल्नुपर्छ, अरूलाई पर्खेर हुँदैन भन्ने उसको भनाइ हुन्थ्यो,’ उनले भनिन् ।
तर भाइको मृत्युपछि उनको सोच बदलिएको छ । परिवर्तनका नाममा फेरि युवाले सडकमा रगत बगाउने अवस्था आउन नहुने उनको भनाइ छ ।
‘अब हामीले सडकमा गएर केही पनि हुँदैन । फेरि आन्दोलन गरेर, फेरि रगत बगाएर समस्या समाधान हुँदैन,’ तुलसाले भनिन्, ‘हामी नबोलीकनै सरकारले गोपालहरूजस्ता युवाको बलिदानीको महत्त्व बुझोस् भन्ने चाहन्छौं ।’
उनले सरकार र सम्बन्धित पक्षले जनताको पीडा बुझेर काम गर्नुपर्ने बताइन् ।
‘हामीले अब कुनै अशुभ समाचार सुन्न नपरोस् । कुनै बुबाले आफ्नो छोराको शव हेर्न नपरोस् । कुनै आमाले ‘मेरो छोरा कहिले फर्कन्छ’ भनेर रुन नपरोस्,’ उनले भनिन् ।
गोपालको मृत्यु भएको एक वर्ष पुग्न लाग्दा पनि परिवारको पीडा उस्तै छ । घरमा रहेका उनका सामान, उनले प्रयोग गरेका वस्तु र तस्बिरहरूले परिवारलाई बारम्बार पुराना सम्झनामा फर्काउने गरेका छन् ।
आमा गुनमायाको आँखाबाट छोराको सम्झनामा आँसु अझै रोकिएको छैन । छोराको तस्बिर हेर्दा उनी भावुक हुने गरेको परिवारका सदस्य बताउँछन् ।
परिवारका लागि गोपाललाई शहीद घोषणा गर्नु सम्मानको विषय भए पनि उनको मृत्युको कारण र त्यसबाट राज्यले लिने पाठ अझ महत्त्वपूर्ण रहेको धनपति बताउँछन् ।
‘हामीलाई छोरा फर्काएर दिन सकिँदैन । त्यो हाम्रो भाग्यमा रहेनछ,’ उनले भने, ‘तर गोपालको जस्तो अवस्था अरू कसैको नहोस् । उसको मृत्युबाट सरकारले सिक्नुपर्छ ।’
जेनजी आन्दोलनका क्रममा झापाबाट गोपालसहित अन्य युवाले पनि ज्यान गुमाएका थिए । परिवारका अनुसार सरकारले उनीहरूलाई शहीद घोषणा गरेको छ ।
तर शहीद घोषणा र सम्मानसँगै युवाको आवाज सुन्ने र उनीहरूका समस्या संवादबाट समाधान गर्ने वातावरण राज्यले बनाउनुपर्ने परिवारको अपेक्षा छ ।
बुढेसकालमा छोराको सहारामा जीवन बिताउने सपना बोकेका धनपतिका लागि अहिले गोपाल सम्झनामा मात्र छन् । छोराको बिहे गरेर घरमा बुहारी भित्र्याउने सपना अब कहिल्यै पूरा हुने छैन । उनको एउटै चाहना छ—देशमा शान्ति होस् र कुनै बाबुआमाले छोराको शव काँधमा बोक्न नपरोस् ।
‘गोपाल गयो, अब अर्को गोपाल नजाओस्,’ आँसु पुछ्दै धनपतिले भने, ‘हाम्रो जस्तो पीडा कसैले भोग्नु नपरोस् । सरकारले युवाको कुरा सुनोस्, देशमा शान्ति होस् ।’






