पाँच घण्टापछि त्रिभुवन राजमार्ग सञ्चालन

हेटौँडा । करिब पाँच घण्टादेखि अवरुद्ध रहेको त्रिभुवन राजमार्ग जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा पुनः सञ्चालनमा आएको छ ।

राजमार्ग अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) मोहन जोशी आफैं घटनास्थलमा पुगेर सडक सञ्चालनका लागि पहल गरेका थिए ।

सडक सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु बिष्ट, सशस्त्र प्रहरी बल मकवानपुरका प्रमुख एसपी निमन खड्कासहित सुरक्षा निकायका अधिकारी तथा सुरक्षाकर्मीहरू परिचालित भएका थिए ।

सम्बन्धित निकायबीचको समन्वय र निरन्तर प्रयासपछि अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो । सडक खुलाउन प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सरोकारवाला निकायले सक्रिय भूमिका निर्वाह गरेका छन् ।

यस क्रममा राजमार्गमा अलपत्र परेका यात्रु तथा सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा निःशुल्क खानासमेत वितरण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले टेलिफोन सम्पर्कमा राजमार्ग खुलाउन आफूहरू रातदिन नभनी निरन्तर खटिएको जानकारी दिएका छन् । विपद् तथा सडक अवरोधका समयमा कार्यालयमै सीमित नभई स्वयं घटनास्थलमा पुगेर उद्धार, व्यवस्थापन तथा सडक सञ्चालनका लागि नेतृत्व गरेको भन्दै स्थानीयस्तरमा उनको सक्रियताको प्रशंसा गरिएको छ ।

सार्वजनिक आवागमन सहज बनाउन कठिन परिस्थितिमा समेत मैदानमै खटिएर काम गर्ने प्रशासन तथा सुरक्षा निकायको सक्रियताले यात्रु र सर्वसाधारणलाई राहत पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *