काठमाडाैं । पुरुषले महिलालाई यौन सन्तुष्टिको साधन मानेका कारण नै बलत्कारको घटना हुने गर्छ । नेपालको कानुनले योनि, गुदद्वार र मुखमा लिंगको प्रवेशलाई बलात्कार मानेको छ । तर औंला वा शरीरका अन्य अंग र बाहिरी वस्तुलाई जबर्जस्ती गुदद्वारलगायतमा प्रवेश गराउने कार्यलाई बिश्वका अन्य देशमा बलात्कार मानिन्छ तर नेपालमा मानिएको छैन ।
नेपालमा बलात्कारका घटना सम्बन्धी पछिल्लो उपलब्ध जानकारी हेर्दा, हालै निकै चर्चामा आएको घटना बाराको सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या हो । त्यस्तै सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको छ । पछिल्ला पाँच आर्थिक वर्षमा हरेक वर्ष औसत २५० जना १० वर्षभन्दा कम उमेरका बालिका बलात्कारको घटनामा पीडित भएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ ।
पछिल्लो समय बैबाहिक बलात्कारका घटनाहरु पनि बढ्न थालेका छन् । बलात्कारका घटना बढेसँगै बेबाहिक बलात्कारका घटना समेत सार्वजनिक हुने क्रम बढदो छ । हिजो आज भने आधनुकिकरण सँगै नैतिक मूल्य, मान्यता र आदर्शमा ठूलो ह्रास आएको छ । कुनै व्यक्ति बलात्कार गर्न त्यस समय उत्तेजित हुन्छ, जब उसमा यौन उत्तेजना धेरै देखिन्छ, तर यौन उत्तेजना मेट्ने साधन प्राप्त हुदैन । वास्तवमा पुरुषले महिलालाई यौन सन्तुष्टिको साधन मानेका कारण नै बलत्कारको घटना हुने गर्छ । अहिले निर्माण भएका फिल्महरुले समेत यौन दुव्र्यवहारमा बढवा दिएको देखिन्छ । प्रायः हिन्दी फिल्म, नेपाली फिल्ममा यस्ता दृश्यहरु राखिएको छ । बलात्कृत महिलालाई शारीरिक, मानसिक तथा भावनात्मक रुपमा समेत चोट परेको हुन्छ । नेपाल जस्तो गरीब र अशिक्षित देशहरुमा बलात्कारका अधिकांश घटनाहरु प्रकाशमा नै आउदैनन् ।
अहिले बिद्यमान जबर्जस्ती करणीसम्बन्धी कानुनी व्यवस्थामा सुधारको खाँचो छ भनेर आवाज उठने गरेको छ । बलात्कारजस्तो गम्भीर अपराध नियन्त्रणका लागि बनेका अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपालको कानुन अलि फितलो छ । प्रचलित कानुनले बलात्कारलाई बलात्कार मान्दैन बलात्कार जनाउन प्रयोग हुने कानुनी शब्द हाmेजबर्जस्ती करणी । यसअघिको मुलुकी ऐनमा ‘जबर्जस्ती करणीको महल’ थियो । हाल प्रचलित मुलुकी अपराध संहितामा पनि ‘जबर्जस्ती करणी’ सम्बन्धी परिच्छेद छ । जबर्जस्ती करणी भन्नाले हिंसाको प्रयोगबाट करणी सम्पन्न भएकै हुनुपर्ने अनिवार्य हुनुपर्ने जस्तो देखिन्छ तर हिंसाबिना पनि बलात्कार हुन सक्छ यस तर्फ कानुन निर्माताहरुको ध्यान पुगेको देखिदैन ।
अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरे बलात्कार गरेको मान्छ । सोही दफाले मञ्जुरीबिना गुदद्वार वा मुखमा लिंग पसाए र लिंगबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराए पनि बलात्कार मान्छ । महिलालाई मात्रै बलात्कारको सम्भावित पीडित मान्ने हैन तेस्रो लिंगी, वयस्क पुरुष र बालक पनि बलात्कारको अपराधबाट पीडित हुन सक्छन यसलाई पनि कानुनले समेटन सकेको छैन ।
नेपालको कानुनले योनि, गुदद्वार र मुखमा लिंगको प्रवेशलाई बलात्कार मानेको छ । तर औंला वा शरीरका अन्य अंग र बाहिरी वस्तुलाई जबर्जस्ती गुदद्वारलगायतमा प्रवेश गराउने कार्यलाई बिश्वका अन्य देशमा बलात्कार मानिन्छ तर नेपालमा मानिएको छैन । तर सर्वोच्च अदालतले महिलाले महिलालाई बलात्कार गर्न सक्ने तथा कृत्रिम लिंगको प्रयोगबाट पनि बलात्कारको अपराध हुन सक्ने नजिर कायम गरेको छ तर कानुन नै चाहि बनेको छैन । अपराध संहिताले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौनसम्बन्ध राखे पनि बलात्कार मान्छ । करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा बन्धक बनाई लिएको वा होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई सहमति मान्दैन । सर्वोच्च अदालतले २०६५ मा आदेश जारी गर्नुअघिसम्म वैवाहिक बलात्कारलाई अपराध मानेको थिएन ।
आफ्नी श्रीमतीबाहेक अन्य महिलालाई जबर्जस्ती करणी गरे मात्रै अपराध मान्ने मुलुकी ऐनको व्यवस्थाले वैवाहिक सम्बन्धका आधारमा बलात्कार जस्तो जघन्य अपराधमा उन्मुक्ति दिन्थ्यो । तर सर्वोच्च अदालतले मुलुकी ऐनको त्यस्तो प्रावधानलाई संशोधन गर्न संसद्लाई निर्देशन दिएपछि अहिले वैवाहिक बलात्कार कसुर मानिने कानुन बनेको छ । तर यस्तो अपराधमा सजाय भने अन्य व्यक्तिलाई बलात्कार गर्दा हुनेभन्दा न्यून छ । संशोधित मुलुकी ऐनमा ‘अदालतबाट दोषी ठहर भएपछि तीनदेखि पाँच वर्ष कैद हुने’ व्यवस्था थियो । अपराध संहिताले यसलाई बदलेर ‘पाँच वर्षसम्म’ बनाएको छ । २०७२ सालसम्म बलात्कारको मुद्दा ३५ दिनभित्र अदालतमा चलाइसक्नुपर्ने व्यवस्था थियो । जसका कारण बलात्कारपीडितका धेरै मुद्दा अदालत पुग्नै सकेनन । तर २०७२ सालपछि मात्रै मुलुकी ऐन संशोधन गरेर हदम्याद ६ महिना पु¥याइदियो । २०७५ भदौ १ देखि लागू भएको अपराध संहितामा हदम्याद एक वर्ष पु¥याइएको छ । तर अपराध संहितामा हाडनाता करणीमा जहिलेसुकै उजुरी गर्न सकिने व्यवस्था छ ।
के छ कानुनमा ?
मुलुकी अपराध संहिताको परिच्छेद १८ मा करणीसम्बन्धी कसूर र त्यसको दण्ड व्यवस्थाबारे उल्लेख गरिएको छ । जसको दफा २१९ मा जवरजस्ती करणी गर्न नहुने उल्लेख छ । त्यसरी कानुनले नगर्न भनिएको कुरा गरेमा कुन कुन अवस्थामा के कति दण्ड सजाय हुने भन्ने प्रष्ट गरिएको छ । दफा २१९ को उपदफा (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ ।
(क) करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन, (ख) होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन, (ग) गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जवर्जस्ती करणी गरेको मानिनेछ ।
(३) जवर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछ, (क) दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद, (ख) दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदखि बीस वर्षसम्म, (ग) चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म, (घ) सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म,(ङ) अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म । (४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैबाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्ती करणी गरेमा पाँच वर्ष सम्म कैद हुनेछ ।





