काठमाडौं । भोटेकोशीका बाढी पीडितलाई राहत स्वरूप ग्यास उद्योगीहरूले तेस्रो चरणको सहयोग अन्तर्गत ७५ वटा सगर ब्रान्डका ग्यास सिलिन्डर रसुवा पठाएका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार शनिबार दिउँसो बबरमहलस्थित आयल निगमबाट ती सिलिन्डरहरू जिल्ला प्रशासन कार्यालय रसुवाको जिम्मामा पठाइएको हो ।
संघले बाढी प्रभावितका लागि कुल १ हजार २५० थान ग्यास सिलिन्डर सहयोग गर्ने निर्णय गरेको छ। यसअघि दुई चरणमा गरी २३२ वटा नेपाल ग्यासका सिलिन्डर प्रभावित क्षेत्रमा पठाइसकिएको अध्यक्ष चन्दले जानकारी दिए ।
सुरुमा एकैपटक ठूलो परिमाणमा ग्यास सिलिन्डर पठाउने योजना रहे पनि पृथ्वी राजमार्ग बन्द हुँदा ढुवानीमा समस्या भएपछि चरणबद्ध रूपमा थोरै–थोरै गरी राहत सामग्री पठाउनुपरेको चन्दको भनाइ छ ।
यसैबीच, ग्यास उद्योगीहरूको अर्को संस्था एलपी ग्यास उद्योग संघ नेपालले पनि भोटेकोशी बाढी प्रभावितका लागि यसअघि दुई चरणमा गरी १५० वटा ग्यास सिलिन्डर सहयोग गरिसकेको छ। संघले पहिलो चरणमा १०० र दोस्रो चरणमा ५० वटा सिलिन्डर उपलब्ध गराएको जनाएको छ ।





