‘विपत्ति आउनुभन्दा १२ दिनअघि नै ‘अलर्ट’ गराइएको चीनको सनसनीपूर्ण दाबी

काठमाडौँ । नेपालमा गत भदौ १० गते आएको भीषण बाढी र पहिरोका कारण ठुलो जनधनको क्षति भइरहेका बेला छिमेकी मुलुक चीनले एक सनसनीपूर्ण खुलासा गरेको छ । चीनले नेपालमा आएको प्राकृतिक विपत्तिबारे घटना हुनुभन्दा १२ दिनअघि नै चेतावनी दिएको दावी गरेको हो ।

बाढी र प्राकृतिक प्रकोपको समयमा आवश्यक तथ्याङ्क तथा पूर्वसूचना साझा नगरेको भन्दै चीनको आलोचना भइरहेका बेला बेइजिङले आफ्नो बचाउमा यस्तो स्पष्टीकरण दिएको हो ।

चीनका अनुसार उसको ‘वर्ल्ड मेट्रोलोजिकल सेन्टर’ ले विपत्ति आउनुभन्दा १२ दिनअघि नै नेपाललाई इमेलमार्फत सम्भावित जोखिमबारे सचेत गराएको थियो । उक्त इमेलमा भारी वर्षा, भूक्षय र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन भनिएको चीनको दाबी छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा प्रकाशित रिपोर्टअनुसार चीनले आफूमाथि लागेको सूचना लुकाएको आरोपको खण्डन गर्दै समयमै प्राविधिक जानकारी उपलब्ध गराएको जिकिर गरेको हो ।

पछिल्लो तथ्याङ्कअनुसार यस विनाशकारी विपत्तिमा परी हालसम्म नेपाल र तिब्बतमा गरी कुल ९५५ जनाले ज्यान गुमाइसकेका छन्। जसमध्ये नेपालमा मात्रै मृत्यु हुनेको सङ्ख्या ९३९ पुगेको छ भने तिब्बतमा १६ जनाको मृत्यु भएको छ ।

विपत्तिका कारण बेपत्ता हुनेहरूको सङ्ख्या भयावह छ । हालसम्म ३ हजार ९ सयभन्दा बढी मानिसहरू सम्पर्कविहीन रहेका छन्, जसले गर्दा मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *