काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षको अवधिमै नाफाबाट ठूलो नोक्सानीमा पुगेको कम्पनीको वित्तीय अवस्थामा आम्दानी घट्नु र खर्च बढ्नु मुख्य कारण देखिएको छ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९.३७ प्रतिशतले घटेर ७ अर्ब ५७ लाख रुपैयाँमा सीमित भएको छ। यता कुल खर्च भने ८०.९६ प्रतिशतले बढेर १० अर्ब ४४ करोड ८६ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन ५.६९ प्रतिशतले घटेर ६ अर्ब १ करोड ५६ लाख रुपैयाँमा झरेको छ। बीमा व्यवसायबाट हुने आम्दानीमा आएको गिरावटसँगै दाबी भुक्तानीमा भएको वृद्धिले पनि कम्पनीको वित्तीय अवस्थामा दबाब बढाएको देखिन्छ।
कम्पनीको कुल दाबी भुक्तानी ३३.६४ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ९० लाख रुपैयाँ पुगेको छ। साथै, लगानीबाट प्राप्त आम्दानीसमेत २७.३० प्रतिशतले घटेको छ।
नाफा ऋणात्मक भएसँगै कम्पनीको सञ्चित नाफा ३ अर्ब २८ करोड ६ लाख रुपैयाँले ऋणात्मक भएको छ। प्रतिशेयर आम्दानीसमेत अघिल्लो आर्थिक वर्षको १२ रुपैयाँ ७९ पैसा सकारात्मकबाट घटेर गत आर्थिक वर्षको अन्त्यमा २१ रुपैयाँ ५० पैसा ऋणात्मक भएको छ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ५८ पैसा कायम भएको छ। त्यस्तै, कम्पनीको महाविपत्ति कोष २७.०८ प्रतिशतले घटेर १४ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ।




