काठमाडौं । रसुवामा आएको बाढीका कारण नौ वाणिज्य बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। तिब्बतबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले नदी आसपासका बजारमा रहेका बैंकका शाखामा ठूलो क्षति पुर्याएको हो।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाका अनुसार प्रारम्भिक जानकारीमा नौ बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको पाइएको छ। बाढी प्रभावित शाखामा कार्यरत आधाभन्दा बढी कर्मचारीसमेत हालसम्म सम्पर्कमा आउन नसकेको उनले बताए।
‘हालसम्मको जानकारी अनुसार ९ बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त छन् भने कर्मचारी पनि आधाभन्दा धेरै सम्पर्कमा छैनन्,’ कोइरालाले भने, ‘कर्मचारी सम्पर्कमा आउने क्रम जारी छ, क्षतिको विवरण पनि क्रमिक रूपमा संकलन भइरहेको छ ।’
कुन बैंकका शाखा तथा कति कर्मचारी भन्ने विवरण संकलन क्रममा रहेको उनले बताए । बाढीले क्षति पुर्याएको क्षेत्रमा जान सकिने अवस्था छैन । फोन तथा इन्टरनेटका टावरमा समेत बाढीले क्षति पुर्याएकाले सम्पर्क गर्न पनि असहज भइरहेको उनले बताए ।




