काठमाडौं । हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको निष्क्रिय कर्जा, सञ्चित नोक्सानी र प्राथमिक पुँजीमा देखिएको दबाबले बैंकको वित्तीय अवस्था अझै चुनौतीपूर्ण रहेको देखाएको छ।
बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुद नाफा १२ करोड ९७ लाख २६ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा बैंकको निष्क्रिय कर्जा (NPL) ७.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ७.९७ प्रतिशत थियो । निष्क्रिय कर्जा उच्च रहेकै कारण बैंकले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि २ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ नोक्सानी व्यवस्था (प्रोभिजन) थपिएको छ ।
बैंकको सञ्चित नोक्सानी ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो नोक्सानी ८ अर्ब ८५ करोड ४२ हजार रुपैयाँ थियो । यसले बैंकको वितरणयोग्य क्षमता अत्यन्तै कमजोर रहेको देखाउँछ ।
यस्तै, बैंकको मुख्य आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानी नै घटेको छ । अघिल्लो आवमा १० अर्ब ४२ करोड ५० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आवमा घटेर ८ अर्ब ८१ करोड १ लाख रुपैयाँमा सीमित भएको छ । खुद फि तथा कमिसन आम्दानी पनि घटेर १ अर्ब १६ करोड २१ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने ०.६० रुपैयाँबाट बढेर ६.५६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७.४८ रुपैयाँ रहेको छ ।
बैंकको आधार दर ६.६३ प्रतिशतबाट घटेर ५.३१ प्रतिशत र स्प्रेड दर ३.२९ प्रतिशतबाट घटेर २.८३ प्रतिशतमा झरेको छ । ब्याज आम्दानीमा आएको गिरावटले बैंकको मूल आम्दानीमा दबाब देखाएको छ ।
पुँजीतर्फ बैंकको कुल पुँजी कोष अनुपात १०.६० प्रतिशतबाट बढेर ११.६९ प्रतिशत पुगेको छ । तर प्राथमिक पुँजी अनुपात ७.६९ प्रतिशतमा सीमित छ, जुन बैंकको पुँजी संरचनातर्फको प्रमुख चुनौतीका रूपमा देखिन्छ ।
त्यस्तै, बैंकको सीडी रेसियो ८१.३५ प्रतिशतबाट घटेर ७२.७४ प्रतिशतमा आएको छ । यसले बैंकसँग लगानीयोग्य स्रोत पर्याप्त भए पनि त्यसअनुसार कर्जा विस्तार हुन नसकेको संकेत गर्छ । कस्ट अफ फन्ड पनि ४.८४ प्रतिशतबाट घटेर ३.६३ प्रतिशतमा आएको छ ।
चौथो त्रैमासमा बैंकको बक्यौता ब्याज तथा अन्य व्यवस्थापनपछि बैंकको वितरणयोग्य नाफा अझै ९ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
गत आवमा बैंकको निक्षेप संकलन ३ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २ खर्ब ३० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार समग्रमा, नाफामा केहि सुधार देखिए पनि उच्च निष्क्रिय कर्जा, बढ्दो सञ्चित नोक्सानी, घट्दो खुद ब्याज आम्दानी र कमजोर वितरणयोग्य नाफाका कारण हिमालयन बैंकको वित्तीय अवस्था अझै दवावमा देखिएको संकेत गरेको छ।




