बलात्कारका अपराधीलाई कडा सजायको व्यवस्था गर्न सांसद तामाङको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बलात्कारका अपराधीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उनले अहिलेको कानुनी व्यवस्थाले अपराधीलाई न्यायको कठघरामा उभ्याउन र समाजमा डर पैदा गर्न नसकेको बताइन् ।

‘बलात्कारीलाई छुट्टै सजाय दिने कानुनमा के त्यस्तो व्यवस्था छ ? उही जेलमा जाने, ग्वामग्वाम मासुभात खाएर लामखुट्टे जस्तो सुकेको ज्यान भएको बलात्कारी अर्ना भैँसी जस्तो भएर निस्किनु बाहेक अरू ठुलो उपलब्धि मैले केही देखेको छैन,’ सांसद तामाङले भनिन् ।

उनले समाजमा बलात्कारका घटना सार्वजनिक भएपछि सडकमा कडा सजाय दे भन्ने आवाज उठ्ने गरेको स्मरण गराउँदै कडा सजायको परिभाषा स्पष्ट हुनुपर्ने बताइन् । उनले सरकारलाई तीन वटा विकल्प सुझाइन् । तामाङले फाँसीको व्यवस्था, फाँसीको व्यवस्था गर्न नसकिए जेल लाने तर खानपिन गर्न नदिने र माथिका दुवै व्यवस्था लागू गर्न नसके, बलात्कारीले शरीरको जुन अंग प्रयोग गरेर बलात्कार गरेको हो, सोही अंगको छेदन गर्ने कानुन ल्याउन माग गरिन् ।

सांसद तामाङले अपराधीले गरेको क्रूरता हेरेर कानुनमा परिवर्तन नगरेसम्म पीडितहरूले न्याय नपाउने उल्लेख गरिन् । ‘अपराधीले गरेको क्रूरता हेरेर कानुनको व्यवस्थामा परिवर्तन नभएसम्म बाराकी ३ वर्षीया गरिमा चौधरी र कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त जस्ता नानीहरूको आत्माले न्याय र शान्ति पाउने छैन,’ उनले भनिन् ।

उनले बलात्कार जस्तो जघन्य अपराध नियन्त्रणका लागि कुरा मात्र नभई कानुनमै कडा प्रहार आवश्यक रहेको बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *