काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन्। विमानस्थल सञ्चालनका विषयमा सरकारले घनिभूत छलफल गरिरहेको उनको भनाइ छ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारणसभालाई शुक्रवार सम्बोधन गर्दै अर्यालले ती विमानस्थलबाट हवाई सेवाले छिट्टै निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
सभामुख अर्यालले भने, ‘भैरहवा र पोखरा विमानस्थलका विषयमा घनिभूत छलफल भइरहेको छ । मलाई विश्वास छ, छिट्टै यी विमानस्थलले निरन्तरता पाउनेछन् र त्यहाँबाट हवाई सेवा सुचारु रूपमा सञ्चालन हुनेछ ।’
अर्यालले निजगढ विमानस्थल निर्माणको विषयमा समेत सरकार गम्भीर रहेको र यसबारेमा आवश्यक बहस अगाडि बढिरहेको जानकारी दिए ।
उनले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको उच्चतम सदुपयोग गर्नुपर्ने र नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न विशेष पहल आवश्यक रहेकोमा जोड दिए ।
वर्तमान सरकार र संसद्मा युवाहरूको बाहुल्यता रहेको उल्लेख गर्दै उनले विकास प्रक्रियाका लागि केही समय धैर्य गर्न नागरिकलाई आग्रह गरे ।
अर्यालले समाजमा नकारात्मक सन्देश प्रवाह गर्दा मुलुक असफलतातिर जाने भन्दै सकारात्मक सोचका साथ अघि बढ्न सरोकारवालाहरूलाई आग्रह गरे ।
वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक म्यान्डेट पाएको दाबी गर्दै उनले पर्यटन मात्र नभई उत्पादन, आयात–निर्यात र सुशासनका क्षेत्रमा समेत सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
उनले अगाडि भने, ‘अबको सरकार असफल हुने छुट छैन । नेपालको इतिहासमा सम्भवतः पहिलो पटक सरकारले र प्रतिनिधिसभाले स्पष्ट जनादेश पाएका छन् । अब नेपाल समृद्ध बनाउनैपर्छ । पर्यटन मात्र होइन, उद्योग, उत्पादन, आयात–निर्यातलगायत सबै क्षेत्रलाई समृद्धिको एउटै दिशामा अघि बढाउनुपर्छ । सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्ने अभियान सरकारले शुरु गरेको छ, यसमा हामी सबैको साथ आवश्यक छ ।’
भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने अभियानमा सरकार दृढ रहेको बताउँदै उनले अबको सरकारलाई असफल हुने छुट नभएको प्रष्ट पारे ।




