काठमाडौं। नेपालमा सौन्दर्य तथा व्यक्तिगत प्रयोगमा आउने कस्मेटिक सामग्रीको आयात पछिल्लो वर्ष उल्लेख्य रूपमा बढेको छ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नेपालले १३ अर्ब ४ लाख रुपैयाँभन्दा बढीका कस्मेटिक सामग्री आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ बढी हो। आर्थिक वर्ष २०८१/८२ मा ११ अर्ब २५ करोड रुपैयाँ बराबरका कस्मेटिक सामग्री आयात भएका थिए।
यस अवधिमा नेपालमा परफ्युम, लिपस्टिक, फेस क्रिम, बडी लोसन, स्याम्पु, हेयर कलर, हेयर आयललगायत विभिन्न सौन्दर्य सामग्री भित्रिएका छन्। सबैभन्दा ठूलो रकम ‘अन्य मेकअप सामग्री’ को आयातमा देखिएको छ। यस शीर्षकमा मात्रै ४ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ।
त्यस्तै, फेस क्रिममा १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी, स्याम्पुमा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी, हेयर आयलमा ७० करोड रुपैयाँभन्दा बढी र बडी लोसनमा ८२ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ। लिपस्टिकमा पनि करिब ७९ करोड ४७ लाख रुपैयाँ बाहिरिएको तथ्यांकले देखाएको छ।
व्यवसायीहरूका अनुसार व्यक्तिगत प्रयोगसँगै ब्युटीपार्लर र सैलुनमा कस्मेटिक सामग्रीको माग बढ्दै गएको छ। पछिल्लो समय टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा भाइरल हुने सौन्दर्य सामग्रीले समेत बजार विस्तारमा ठूलो प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ।
नेपालमा उत्पादन हुने कस्मेटिक सामग्री सीमित रहेकाले उपभोक्ताले ब्रान्डअनुसारका विदेशी उत्पादन खोज्ने गरेका छन्। सामाजिक सञ्जालमा कुनै सामग्री भाइरल भएपछि त्यसको माग तत्काल बढ्ने र सोहीअनुसार आयातसमेत बढ्ने व्यवसायीहरू बताउँछन्।
यसरी हेर्दा बदलिँदो जीवनशैली, सामाजिक सञ्जालको प्रभाव र ब्युटीसम्बन्धी बढ्दो रुचिका कारण नेपालमा कस्मेटिक सामग्रीको बजार विस्तार हुँदै गएकोले अघिल्ला बर्षहरु भन्दा यस बर्ष कस्मेटिक सामग्रीको आयात उल्लेख्य मात्रामा बढेको देखिन्छ।




