विश्व कूटनीतिको बदलिँदो चालबारे अर्थमन्त्री वाग्लेको प्रश्न, जयशंकरको रोचक जवाफ

काठमाडौं । बदलिँदो विश्व व्यवस्थामा अन्तर्राष्ट्रिय सहकार्य पुरानै संस्थागत ढाँचामा अघि बढाउने कि साझा स्वार्थ भएका मुलुकबीच व्यावहारिक साझेदारीलाई प्राथमिकता दिने भन्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बहस भएको छ। भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा भएको संवादमा दुवैले विश्वव्यापी सहकार्यको बदलिँदो स्वरूप र क्षेत्रीय साझेदारीको सम्भावनाबारे धारणा राखेका हुन्।

भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार भएको ‘द जियोपोलिटिक्स अफ सोभरेन च्वाइस’ सत्रमा अर्थमन्त्री वाग्लेले बदलिँदो विश्व परिस्थितिमा बहुपक्षीय सहकार्यको भविष्यबारे प्रश्न उठाएका थिए। सत्रमा भारतीय विदेशमन्त्री जयशंकर प्रमुख वक्ता र वाग्ले अतिथि वक्ताका रूपमा सहभागी थिए।

वाग्लेले शीतयुद्धको अन्त्यपछि व्यापार र अर्थतन्त्रमा बहुपक्षीय सहकार्यले महत्त्व पाएको भए पनि पछिल्ला वर्षमा त्यसको आधार कमजोर हुँदै गएको बताए। व्यापारिक गुटहरूको विस्तार र विश्वव्यापी आर्थिक विखण्डन बढिरहेका बेला विपद् प्रतिकार्य, पोषण, ऊर्जा तथा स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा मुलुकहरूबीच सहकार्य गर्ने नयाँ सम्भावनाबारे उनले चासो राखे।

उनको प्रश्न थियो—यस्ता सहकार्यलाई औपचारिक संस्थागत संरचनामार्फत अघि बढाउनु उपयुक्त हुन्छ कि साझेदार मुलुकबीचको समझदारीका आधारमा व्यावहारिक रूपमा अघि बढाउन सकिन्छ? बहुध्रुवीय विश्व व्यवस्थामा क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीले कस्तो भूमिका खेल्न सक्छ भन्ने जिज्ञासासमेत उनले राखे।

‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’ भन्दै वाग्लेले विश्वमा सहकार्यको प्राथमिकता फेरिँदै गएको हो कि भन्ने प्रश्न जयशंकरसमक्ष राखेका थिए।

जवाफमा जयशंकरले पछिल्ला दुई दशकमा मुलुकहरू औपचारिक प्रतिबद्धताभन्दा व्यावहारिक परिणाम दिने सहकार्यतर्फ आकर्षित हुँदै गएको बताए। उनका अनुसार संस्थागत संरचना निर्माण गर्दा वार्ता, प्रशासनिक प्रक्रिया, आर्थिक दायित्व र नियम निर्धारणमै लामो समय खर्च हुने भएकाले कतिपय अवस्थामा सहकार्यको मूल उद्देश्य नै ओझेलमा पर्ने गरेको छ।

यद्यपि, उनले औपचारिक संरचनाको आवश्यकता सबै क्षेत्रमा समान नहुने स्पष्ट पारे। आवश्यक पर्ने क्षेत्रमा संस्थागत व्यवस्था उपयुक्त भए पनि हरेक सहकार्यलाई एउटै ढाँचामा बाँध्नुपर्ने बाध्यता नरहेको उनको भनाइ थियो। अन्तर्राष्ट्रिय सौर्य गठबन्धनलाई औपचारिक सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले सहकार्यको स्वरूप त्यसको उद्देश्य, सहभागी मुलुक र प्रतिबद्धताको स्तरअनुसार फरक हुन सक्ने बताए।

जयशंकरले ब्रिक्सको उदाहरण दिँदै त्यसको आफ्नै सचिवालय र सबै सदस्यले हस्ताक्षर गरेको लिखित बडापत्र नरहेको उल्लेख गरे। ब्रिक्स र सांघाई सहयोग सङ्गठनका संरचनाबीचको भिन्नता औँल्याउँदै उनले अन्तर्राष्ट्रिय सहकार्यका सबै संयन्त्र एउटै संस्थागत ढाँचामा सञ्चालन हुन नसक्ने धारणा राखे।

“तपाईंले मलाई प्रवृत्तिबारे सोध्नुभयो भने, म भन्छु, प्रवृत्ति स्पष्ट रूपमा बढी तदर्थ र बढी समान विचारधाराका समूहहरूतर्फ गइरहेको छ,” जयशंकरले भने।

‘परिणाममुखी सहकार्यतर्फ विश्वको झुकाव’

भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा द्विपक्षीयभन्दा फरक प्रकृतिका त्रिपक्षीय, चतुर्पक्षीय तथा समान विचारधारा भएका मुलुकका करिब ५० वटा समूह निर्माण गरेको प्रसङ्ग उल्लेख गर्दै उनले कम प्रशासनिक भार र परिणाममुखी सहकार्यप्रति मुलुकहरूको रुचि बढिरहेको बताए।

संवादका क्रममा अर्थमन्त्री वाग्लेले नेपालले भारतबाट प्राप्त विपद् प्रतिकार्य सहयोगको प्रशंसा पनि गरेका थिए। सन् २०१५ को भूकम्प र हालै रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद्का बेला भारतले केही घण्टाभित्रै सहयोग उपलब्ध गराएको स्मरण गर्दै उनले त्यसप्रति नेपालको कृतज्ञता व्यक्त गरेका थिए।

विश्वव्यापी तनाव, आर्थिक विखण्डन र शक्तिराष्ट्रहरूको बदलिँदो भूमिकाबीच अन्तर्राष्ट्रिय सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित संवादले नेपाल र भारतका प्रतिनिधिबीच क्षेत्रीय साझेदारी, बहुपक्षीयता र परिणाममुखी कूटनीतिबारे विचार आदानप्रदानको अवसर दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *