काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा सञ्चालित निजी होस्टेल (छात्रावास)का नाममा २१ बुँदे निर्देशन जारी गरेको छ । विभिन्न प्रकारका घटनाहरु हुन थालेपछि प्रशासन निजी होस्टेलका नाममा कडा निर्देशन जारी गरेको हो ।
प्रशासनले त्यस्ता होस्टेलहरुमा बेला–बेलामा नियमित तथा आकस्मिक रुपमा अनुगमन पनि गर्दै आएको छ । गुनासो प्राप्त केही होस्टेललाई ३ लाख रुपैयाँसम्म जरिवाना र होस्टेल शिलबन्दी गर्ने कार्यसमेत भएको प्रशासनले जनाएको छ ।
होस्टेलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चर्को शुल्क असुलिएको, पूर्वाधार कमजोर रहेको र लागुऔषधको समेत प्रयोग बढेको जस्ता गम्भीर गुनासा आएपछि प्रशासनले सूचना नै जारी गरेर यस्तो निर्देशन दिएको हो ।
यो निर्देशनमा उल्लेख भएका व्यवस्था एक महिनाभित्र पूरा गर्न पनि प्रशासनले होस्टेलहरुलाई समयसीमा दिएको छ ।





