काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले बिहीबार शपथ लिएका हुन् ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार रावललाई डेपुटी गभर्नरमा नियुक्त गरिएको हो । डेपुटी गभर्नर रावल लामो समयदेखि राष्ट्र बैंकको सेवामा कार्यरत छन् । उनी २०६२ साल माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवामा प्रवेश गरेका थिए । त्यसपछि उनी २०६९ सालमा उपनिर्देशक र २०७५ सालमा निर्देशक हुँदै अघि बढेका थिए।
पछिल्लो पटक उनी २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए। डेपुटी गभर्नरमा नियुक्त हुनुअघि रावलले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए।




