नाडा अटो शोमा गाडी मात्रै होइन, गाडी चलाउने सम्पूर्ण ‘इकोसिस्टम’ देखिनेछ : अध्यक्ष उप्रेती

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले आगामी नाडा अटो शोमा सवारीसाधन मात्र नभई गाडी खरिददेखि सञ्चालन, मर्मतसम्भार, वित्तीय सेवा, बीमा र चार्जिङ पूर्वाधारसम्मको सम्पूर्ण ‘इकोसिस्टम’ एकै ठाउँमा देख्न सकिने बताएका छन्। उनका अनुसार यसपटकको प्रदर्शनीलाई केवल नयाँ गाडीको प्रदर्शनमा सीमित नराखी नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र अवस्था र भविष्यको सम्भावना देखाउने थलोका रूपमा विकास गर्न खोजिएको छ।

आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘१८औँ नाडा अटो शो २०२६’ को तयारी अहिले तीव्र गतिमा भइरहेको छ। प्रदर्शनीस्थलमा विभिन्न ब्रान्डका स्टल निर्माण, सजावट तथा अन्य पूर्वाधार तयार गर्ने काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

यस वर्षको नाडा अटो शो नाडाको ५०औँ स्थापना वर्ष अर्थात् स्वर्ण जयन्ती संस्करणसमेत भएकाले विगतका तुलनामा प्रदर्शनीलाई थप व्यवस्थित, प्रविधिमैत्री र आकर्षक बनाउने तयारी गरिएको छ। आयोजकका अनुसार प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन्।

विश्वका विभिन्न देशका ब्रान्ड एउटै छानामुनि

अध्यक्ष उप्रेतीका अनुसार प्रदर्शनीमा उपभोक्ताले विभिन्न ब्रान्डका नयाँ सवारीसाधन प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्। त्यससँगै विद्युतीय सवारी, नयाँ प्रविधि, ब्याट्री, चार्जिङ प्रणाली, टायर, ल्युब्रिकेन्ट्स, स्पेयर पार्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणसमेत प्रदर्शन गरिनेछ। बैंक, वित्तीय संस्था र बीमा कम्पनीको सहभागिताले सवारीसाधन खरिदका लागि आवश्यक वित्तीय तथा बीमा सेवाबारे जानकारी लिनसमेत उपभोक्तालाई सहज हुनेछ।

‘गाडी किनेपछि त्यसलाई सञ्चालन गर्न आवश्यक पर्ने सबै पक्षलाई एउटै ठाउँमा जोड्ने प्रयास गरिएको छ,’ उप्रेतीले भने। उनका अनुसार पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएकाले अटोमोबाइलको परम्परागत अवधारणासँगै नयाँ मोबिलिटी प्रणाली र त्यसका लागि आवश्यक पूर्वाधारलाई पनि प्रदर्शनीमा प्राथमिकता दिइएको छ।

नाडाले अटो शोमा करिब ७० वटा स्टल अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणका लागि छुट्याएको छ। यसले नयाँ गाडीका साथै सवारीसाधनको नियमित मर्मतसम्भार र सञ्चालनमा आवश्यक पर्ने सामग्री तथा प्रविधिबारे जानकारी लिन उपभोक्तालाई अवसर दिनेछ।

प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको सहभागितालाई पनि महत्वपूर्ण मानिएको छ। सवारीसाधन खरिद गर्दा आवश्यक पर्ने कर्जा, वित्तीय योजना तथा बीमा सेवाबारे उपभोक्ताले सम्बन्धित संस्थासँग प्रत्यक्ष जानकारी लिन सक्नेछन्। यसले अटोमोबाइल बजारमा बिक्रीसँगै वित्तीय र सेवा क्षेत्रको भूमिकालाई समेत उजागर गर्ने आयोजकको अपेक्षा छ।

‘मेड इन नेपाल’ का लागि छुट्टै प्याभिलियन

यस वर्षको प्रदर्शनीमा ‘मेड इन नेपाल र मेड फर नेपाल’ पभेलियनसमेत रहनेछ। उक्त पभेलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन, विद्युतीय सवारी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्ट प्रदर्शन गरिनेछ। नेपाली उत्पादन तथा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले छुट्टै पभेलियनको व्यवस्था गरिएको हो।

अध्यक्ष उप्रेतीले नेपालमा अटोमोबाइल क्षेत्रको विकाससँगै स्वदेशी उत्पादन, एसेम्बलिङ, विद्युतीय सवारी र त्यससँग जोडिएको पूर्वाधार विकासको सम्भावना पनि बढिरहेको बताए। नेपालमै उत्पादन भएका सामग्रीलाई उपभोक्ता तथा व्यवसायीमाझ पुर्‍याउन र स्थानीय उत्पादनको बजार विस्तार गर्न नाडा अटो शो प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ।

उनका अनुसार अटो शो व्यवसायीका लागि नयाँ उत्पादन र प्रविधि सार्वजनिक गर्ने अवसर मात्र नभई उपभोक्ताको रुचि र बजारको माग बुझ्ने माध्यमसमेत हो। प्रदर्शनीमा आउने उपभोक्ताबाट प्राप्त प्रतिक्रिया, व्यवसायीबीचको अन्तरक्रिया र नयाँ प्रविधिको प्रदर्शनले नेपालको अटोमोबाइल बजारको आगामी दिशाबारे समेत संकेत गर्नेछ।

नाडा अटो शोमा नयाँ सवारीसाधन र प्रविधिको प्रदर्शनसँगै उपभोक्ता, उत्पादक, आयातकर्ता, वितरक, वित्तीय संस्था, बीमा कम्पनी, अटो पार्ट्स व्यवसायी तथा अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तरक्रिया हुने आयोजकले जनाएको छ। यसले अटोमोबाइल क्षेत्रमा नयाँ व्यापारिक सम्बन्ध र सहकार्यको सम्भावना बढाउने अपेक्षा गरिएको छ।

नाडाका अनुसार स्वर्ण जयन्ती संस्करणलाई विगतका प्रदर्शनीभन्दा फरक र विशेष बनाउने गरी व्यवस्थापन, प्रविधि तथा प्रस्तुतीकरणमा समेत सुधार गरिएको छ। प्रदर्शनीमा आउने दर्शकले नयाँ गाडी हेर्ने मात्र नभई सवारीसाधनसँग जोडिएको प्रविधि, सेवा, पूर्वाधार र वित्तीय व्यवस्थाका बारेमा समेत जानकारी प्राप्त गर्न सक्नेछन्।

गाडी मात्रै होइन, गाडी चलाउने सम्पूर्ण ‘इकोसिस्टम’

अध्यक्ष उप्रेतीका अनुसार नेपालको अटोमोबाइल क्षेत्र अब गाडी बिक्रीमा मात्र सीमित छैन। विद्युतीय सवारीको विस्तार, चार्जिङ पूर्वाधार, ब्याट्री प्रविधि, डिजिटल सेवा, वित्तीय सुविधा, बीमा र मर्मतसम्भारजस्ता क्षेत्रसमेत यससँग जोडिँदै गएका छन्। त्यसैले नाडा अटो शोले यही बदलिँदो अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई समग्र रूपमा प्रस्तुत गर्ने प्रयास गरेको हो।

नाडाको ५०औँ स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको प्रदर्शनीमा ठूलो संख्यामा ब्रान्ड तथा व्यवसायीको सहभागिता रहने भएकाले यसपटकको अटो शो नेपाली अटोमोबाइल बजारका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। आयोजकले उपभोक्ता, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका सबै सरोकारवालालाई प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *