काठमाडौँ। भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने १८औँ नाडा अटो शो २०२६ मा विद्युतीय तथा हाइब्रिड सवारीसाधनसँगै अत्याधुनिक प्रविधि र रोबोटिक्स मुख्य आकर्षणका रूपमा रहने भएका छन्।
स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको यस वर्षको अटो शोमा जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट विशेष आकर्षणका रूपमा रहनेछन्। रोबोटले प्रदर्शनीमा आगन्तुकको ध्यान खिच्ने भए पनि यसपटकको अटो शोले नेपालमा तीव्र गतिमा भइरहेको विद्युतीय सवारी संक्रमण, चार्जिङ पूर्वाधार र नीतिगत परिवर्तनलाई समेत एउटै स्थानमा प्रस्तुत गर्ने आयोजकले जनाएको छ।
नेपालमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिसकेका छन्। निजी आयातकर्ता र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा करिब २ हजार चार्जिङ स्टेसनको सञ्जालसमेत तयार भइसकेको छ। नेपालमा आयात हुने विद्युतीय सवारीसाधनमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट आउने गरेका छन् भने बाँकी मुख्यतः भारतबाट आयात हुने गरेका छन्।
अटो शोमा विद्युतीय तथा हाइब्रिड सवारीसाधनका विभिन्न मोडल तथा मूल्य दायराका सवारीसाधन प्रदर्शन गरिनेछन्। विद्युतीय सवारीको क्षेत्रमा स्थापित बीवाईडी, स्टेलान्टिसको लगानी रहेको लीपमोटर, जिली समूहअन्तर्गतका ब्रान्ड तथा एमजी र वुलिङलगायतका ब्रान्ड सहभागी हुनेछन्।
दुईपाङ्ग्रे विद्युतीय सवारीतर्फ कनेक्टेड विद्युतीय मोटरसाइकल रिभोल्ट तथा नेपालमै डिजाइन र एसेम्बल हुने यात्रीसमेत प्रदर्शनीमा रहनेछन्।
विद्युतीय सवारीको विस्तारसँगै आवश्यक चार्जिङ पूर्वाधारलाई समेत विशेष प्राथमिकता दिइएको छ। प्रदर्शनीका आधिकारिक चार्जिङ पार्टनर जीआई चार्जरसहित एक्सिकम, जेभपोइन्ट र एयरचार्जले एसी तथा डीसी चार्जिङ प्रणाली प्रदर्शन गर्नेछन्।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा विद्युतीय सवारीको विस्तार चार्जिङ पूर्वाधारको विकासभन्दा तीव्र गतिमा भइरहेको बताउँदै यस विषयमा खुला छलफल आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार अटो शोले सवारीसाधन, चार्जिङ पूर्वाधार तथा त्यसका लागि आवश्यक वित्तीय सेवाप्रदायकलाई एउटै स्थानमा ल्याएर विद्युतीय सवारीको वर्तमान अवस्था र आगामी सम्भावनाबारे छलफल गर्ने अवसर प्रदान गर्नेछ।
यसैबीच, विद्युतीय सवारीसाधनसँग सम्बन्धित कर प्रणालीमा भएको पछिल्लो परिवर्तनसमेत यस वर्षको अटो शोको महत्वपूर्ण विषय बन्ने भएको छ। नेपालमा विद्युतीय सवारीसाधनको आयात कर मोटरको किलोवाट क्षमतामा आधारित प्रणालीबाट मूल्यमा आधारित क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट लेवीमा परिवर्तन भएको छ।
विद्युतीय सवारीको बढ्दो प्रयोग, चार्जिङ पूर्वाधारको विस्तार, कर नीतिमा आएको परिवर्तन तथा आगामी दिनमा आवश्यक पर्ने पूर्वाधारबारे अटो शोमा सरोकारवालाबीच छलफल हुने आयोजकले जनाएको छ।
यसरी १८औँ नाडा अटो शोमा रोबोट र नयाँ पुस्ताका सवारीसाधनले आगन्तुकको ध्यान आकर्षित गर्ने भए पनि प्रदर्शनीको मुख्य विषय नेपालमा तीव्र गतिमा भइरहेको विद्युतीय सवारी तथा यातायात क्षेत्रको रूपान्तरण रहने आयोजकले जनाएको छ।




