काठमाडौं । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव लेखराज भट्टले मंसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय भेलामा पार्टीका प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष तथा उपाध्यक्षसहित संघ, प्रदेश र पालिकाका जनप्रतिनिधिहरू सहभागी हुनेछन् ।
उनले भने, ‘अब मङ्सिर २६ मा वडा अधिवेशन, आगामी पुस ४ मा पालिका अधिवेशन गर्ने निर्णय भएको छ । मङ्सिरको पहिलो हप्ता राष्ट्रिय भेला गर्ने, पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र सङ्घ, प्रदेश तथा पालिकाका जनप्रतिनिधिहरूलाई सहभागी गराउने निर्णय भएको छ ।’
यसैगरी, मधेश प्रदेशमा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गर्ने जैनव खातुनको निधन भएपछि रिक्त स्थानमा नाजमा खातुनलाई पठाउने निर्णय भएको भट्टले जानकारी दिए ।
‘मधेश प्रदेशमा समानुपातिकतर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने जैनव खातुनको निधन भएको हुँदा त्यसको रिक्त स्थानको मापदण्ड अनुरूप क्रम सङ्ख्या ४२ तथा बन्दसूचीको क्रम सङ्ख्या ४० मा रहनुभएकी धनुषाको उम्मेदवार नाजमा खातुनलाई पठाउने निर्णय गरिएको छ,’ उनले भने ।
भट्टका अनुसार एमाले स्थायी कमिटी बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेछ ।




