काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘१८औँ नाडा अटो शो २०२६’ नजिकिँदै गर्दा काठमाडौंको भृकुटीमण्डपमा स्टल निर्माण तथा प्रदर्शनीको तयारी तीव्र पारिएको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शोको तयारी अन्तिम चरणमा छ।
आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ। प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पार्ट्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माण भइरहेको छ।
यस वर्ष नाडाको ५०औँ स्थापना वर्ष अर्थात् स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुने प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन्।
प्रदर्शनीमा नयाँ सवारीसाधन, विद्युतीय सवारी (ईभी), अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ। त्यस्तै, करिब ७० वटा स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणलगायत सामग्री प्रदर्शन गरिने आयोजकले जनाएको छ।
स्वर्ण जयन्ती संस्करण भएकाले यसपटकको नाडा अटो शो विगतका संस्करणभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र आकर्षक बनाउने तयारी गरिएको छ। प्रदर्शनीले उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तरक्रियाको अवसरसमेत प्रदान गर्नेछ।
यस वर्ष ‘मेड इन नेपाल र मेड फर नेपाल’ पभेलियनसमेत राखिने भएको छ। उक्त पभेलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन, ईभी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टको प्रवर्द्धन गरिने आयोजकले जनाएको छ।





