सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडीएम तथा अभिकर्ता सम्मानित

काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।

बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, क्षेत्रीय प्रबन्धक तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश प्रमुख नवराज चौधरीको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा मधेश प्रदेश प्रमुख चौधरीले बिक्री नीति २०८३र८४ तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै अभिकर्ताहरूलाई कम्पनीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गरे।

प्रमुख बजार अधिकृत चौलागाईंले अभिकर्ताको हकहित, सेवा–सुविधा तथा व्यावसायिक विकासलाई कम्पनीले प्राथमिकतामा राख्दै विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले अभिकर्ताको व्यावसायिक यात्रालाई सहज बनाउन कम्पनी सहकार्य र सहजीकरणका लागि सदैव तयार रहेको उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले मधेश प्रदेशमा सन नेपाल लाइफले छुट्टै पहिचान तथा सकारात्मक व्यावसायिक छवि बनाउन सफल भएको बताए । उनले कम्पनीको सफलतामा मधेश प्रदेशका अभिकर्ता, एडीएम तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनीहरूको मेहनत र निरन्तर प्रयासको प्रशंसा गरे।

उनले आगामी दिनमा मधेश प्रदेशमा बीमाको पहुँच विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई थप सशक्त बनाउने र उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई निरन्तर प्रोत्साहन तथा सम्मान प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एडीएम तथा इमर्जिङ सन क्लबका योग्य अभिकर्ताहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। सम्मानले अभिकर्ताहरूमा थप उत्साह, ऊर्जा तथा आगामी दिनमा उत्कृष्ट व्यवसायिक उपलब्धि हासिल गर्ने प्रेरणा मिलेको सहभागीहरूले बताएका छन्।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा तथा बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कम्पनीले बीमाको पहुँच विस्तार, अभिकर्ता सञ्जालको विकास, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यावसायिक वृद्धिलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *