हामी लोकरिझ्याइँका लागि सेयर बजार ‘बम्प’ गरेर ‘डम्प’ गर्न आएका होइनौँ : अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोकरिझ्याइँका लागि सेयर बजारलाई कृत्रिम रूपमा उचाल्ने र गिराउने नीति सरकारको नरहेको बताएका छन्।

बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताए।

उनले नियमन, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर सेयर बजारलाई व्यवस्थित बनाउने नीतिअनुरुप सरकारले काम गरिरहेको दाबी गरे। सेयर बजारमा हुने गतिविधिलाई स्वच्छ र नियमनकारी संरचनाभित्र राख्दै आम लगानीकर्ताको लगानी सुरक्षित गर्ने सरकारको नीति रहेको उनले बताए।

साना लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राखेर नियामकीय सुधारका कामहरु अघि बढाइएको समेत उनले बताए।

अर्थमन्त्री वाग्लेले सेयर बजारसम्बन्धी सरकारले लिएको नीतिका कारण पछिल्लो चार महिनामा आफूले व्यापक रुपमा आलोचना र गाली सहनुपरेको समेत बताए। उनले भने, ‘हामी लोकरिझ्याइँका लागि सेयर बजार ‘बम्प’ गरेर ‘डम्प’ गर्न आएका होइनौँ।’

उनले लोकप्रिय भन्दा मुलुकको अर्थतन्त्रमा दीर्घकालीन रुपमा सुधार हुने गरी कार्य भइरहेको भन्दै अबको एकहप्तापछि चालु आर्थिक वर्षको बजेटमा सेयर बजारसम्बन्धी घोषणा गरिएका सुधारका विषयहरु कार्यान्वयनको चरणमा प्रवेश गर्ने उनको दावी छ।

फरक प्रसंगमा बोल्दै उनले एक सय रुपैयाँमाथिको समानमा भन्सार कर रास्वपा सरकार नलगाएको जिकिर गरे। उनले यसअघिकै सरकारहरुको पालामा बनेको नीतिअनुसार भन्सार महसुल लिँदै आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *