काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार मुख्य वित्तीय सूचकांकहरुमा उल्लेख्य सुधार गर्दै बैंक पुनः नाफामा फर्किन सफल भएको छ।
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिमा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्ष ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको बैंकले एक वर्षमै घाटाबाट नाफातर्फ फर्किन सफल भएको हो। यसले बैंकको वित्तीय अवस्थामा सुधारको संकेत देखाएको छ।
बैंक नाफामा फर्किएसँगै बैंकको प्रतिसेयर आम्दानी (इपीएस) पनि सकारात्मक बनेको छ। अघिल्लो आर्थिक वर्ष ऋणात्मक रहेको इपीएस समीक्षा अवधिमा सुधार भएर १.२२ रुपैयाँ धनात्मक हुन पुगेको छ।
बैंकको खुद फि एन्ड कमिसन आम्दानी पनि १ अर्ब २१ करोड २७ लाख रूपैयाँबाट बढेर १ अर्ब ४२ करोड रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष ८.७४ प्रतिशत रहेको बैंकको खराब कर्जा (एनपीएल) अनुपात भने गत आर्थिक बर्षमा ९.२६ प्रतिशत पुगेको छ।
बैंकको जोखिम व्यवस्थापनवापतको इम्पेरिमेन्ट चार्ज २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ रहेको छ। जसका कारण प्रत्यक्ष रूपमा बैंकको खुद सञ्चालन आम्दानीलाई प्रभावित बन्न पुगेको छ ।
त्यस्तै, बैंकले निक्षेप संकलनमा पनि वृद्धि गरेको छ।।समिक्षा अवधिसम्ममा बैंकको निक्षेप ६.२७ प्रतिशतले बढेर ३ खर्ब ४३ करोड ६७ लाख रुपैयाँ पुगेको छ। बैंकिङ प्रणालीमा निक्षेप आधार विस्तार हुनु बैंकको वित्तीय स्थायित्वका दृष्टिले सकारात्मक मानिन्छ।
यद्यपि, बैंकको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको खुद ब्याज आम्दानीमा भने दबाब कायमै छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी २२.५६ प्रतिशतले घटेर ७ अर्ब ८४ करोड ५० लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी १० अर्ब १३ करोड ५ लाख ७७ हजार रुपैयाँ थियो।
त्यस्तै, बैंकको सञ्चालन मुनाफा ४३ करोड ४३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ९७ करोड १८ लाख रुपैयाँ धनात्मक रहेको थियो।
वित्तीय अवस्था सुधरात्मक देखिएको बैंकको वितरणयोग्य मुनाफा भने ऋणात्मक छ। असारमसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १४ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। जसका कारण बैंकले चालु अवस्थामा सेयरधनीलाई लाभांश वितरण गर्न भने सक्दैन।
सञ्चालन खर्चमा कटौती गर्ने रणनीति लिएको बैंकको कर्मचारी खर्च अघिल्लो वर्ष ३ अर्ब ८३ करोड रहेकोमा गत वर्ष घटेर ३ अर्ब ५२ करोडमा झरेको छ । त्यस्तै, अन्य सञ्चालन खर्च पनि १ अर्ब ८० करोडबाट घटेर १ अर्ब ४२ करोडमा झरेको छ ।
बैंकको पुँजीकोष अनुपात ११.१० प्रतिशत रहेको छ भने प्राथमिक पूँजी अनुपात ६.२७ प्रतिशत छ । त्यस्तै बैंकको आधार दर पनि ७.०५ प्रतिशतबाट घटेर ५.८३ प्रतिशतमा झरेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड १७ लाख रुपैयाँ रहेको छ भने कर्जा प्रवाह १ खर्ब ९२ करोड ८१ लाख रुपैयाँ रहेको छ। बैंकको सिडी रेसियो ६१.०७ प्रतिशत रहेको छ। यसले बैंकसँग लगानीयोग्य रकम पर्याप्त रहेको देखाउँछ।
समग्रमा एनआईसी एशिया बैंकका लागि गत आर्थिक वर्ष वित्तीय पुनरुत्थानको वर्षका रूपमा देखिएको छ। झन्डै ४ अर्बको नोक्सानी घटाएर नाफामा फर्किनु, खराब कर्जा उल्लेख्य रूपमा घटाउनु, इपीएसलाई सकारात्मक बनाउनु र निक्षेपमा वृद्धि गर्नुलाई बैंकको वित्तीय सुधारका महत्वपूर्ण संकेत हुन्।
यद्यपि, वितरणयोग्य नाफा, सञ्चालन मुनाफा र खुद ब्याज आम्दानीमा अझै दबाब रहेकाले दिगो नाफा वृद्धि कायम गर्नु बैंकका लागि मुख्य चुनौती देखिएको छ।




