लक्ष्मी सनराइज बैंकको नाफामा गिरावट, लाभांश क्षमता दोब्बरले घट्यो

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको आव २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा २३.२६ प्रतिशतले घटेको छ। नाफासँगै बैंकमा महत्त्वपूर्ण वित्तीय सूचकांकहरु नकारात्मक देखिएका छन्।

बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.२६ प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकको खुद नाफा ४ अर्ब ६ करोड २० लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा ४. ३५ प्रतिशतबाट बढेर ५.२३ प्रतिशत पुगेको छ।

बैंकले खराव कर्जाबाट उत्पन्न सम्भावित जोखिम व्यवस्थाका लागि ३ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ (इम्पेरिमेन्ट चार्ज) छुट्याएको छ। जसले बैंकको खुद सञ्चालन आम्दानीलाई घटाएको छ । अघिल्लो आवमा बैंकले १ अर्ब २५ करोड ८० लाख रूपैयाँ प्रोभिजन थप गरेको थियो ।

असारमसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ। अघिल्लो आव वर्ष १० अर्ब ८५ करोड रहेको खुद ब्याज आम्दानी गत वर्षमा घटेर ११ अर्ब ५८ करोडमा झरेको छ।

त्यस्तै , बैंकको खुद फि एन्ड कमिसन आम्दानी २ अर्ब ४५ करोड ९७ लाख रूपैयाँ छ ।

त्यसैगरी बैंकको संचालन खर्च ह्वात्तै बढेको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ९१ करोड रहेकोमा गत वर्ष बढेर ५ अर्ब ३८ करोड पुगेको छ।

त्यस्तै, बैंकको अन्य सञ्चालन खर्च पनि १ अर्ब ३८ करोडबाट बढेर १ अर्ब ५१ करोड पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी घटेको छ। अघिल्लो आर्थिक वर्ष १६.६८ रुपैयाँबाट रहेकोमा गत आर्थिक बर्षमा घटेर ११.६४ रुपैयाँमा झरेको छ ।

चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ रहेको बैंकले ४ खर्ब २४ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ६ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७४. ७७ प्रतिशत छ।

नाफा प्रभावित बनेपछि बैंकको लाभांश क्षमतामा उल्लेख्य गिरावट आएको छ नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ मात्र कायम भएकाले बैंकको लाभांश क्षमता ६. ७९ प्रतिशत मात्र देखिएको छ । अघिल्लो वर्ष लाभांश क्षमता १२.१८ प्रतिशत रहेको थियो ।

बैंकको खुद निष्क्रिय कर्जा पनि १. ०७ प्रतिशतबाट बढेर १.१३ प्रतिशत पुगेको छ ।

असार मसान्तसम्ममा बैंकको पुँजीकोष अनुपात १२.०३ प्रतिशत र प्राथमिक पूँजी अनुपात ९.९० प्रतिशत रहेको छ ।

बजारमा तरलता सहज भएसँगै बैंकको आधार दर ६.५० प्रतिशतबाट घटेर ५.०५ प्रतिशतमा झरेको छ भने ब्याजदर अन्तर पनि ३.५१ प्रतिशतबाट ३.२२ प्रतिशतमा खुम्चिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *