नाइमा एक्स्पोमा ट्राफिक प्रहरीको सचेतना स्टल, दुर्घटनाका वास्तविक भिडियोले तान्यो भीड

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ।

एक्स्पोको तेस्रो दिनसम्म ट्राफिक प्रहरीको सचेतना स्टलमा सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको छ। नयाँ सवारीसाधन अवलोकन तथा खरिदका लागि पुगेका चालक, सवारीधनी र अन्य आगन्तुकलाई सडक सुरक्षा र ट्राफिक नियमबारे जानकारी दिने उद्देश्यले स्टल राखिएको हो।

ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्रबहादुर मल्लका अनुसार सवारीसाधन खरिद गर्नुका साथै त्यसलाई सुरक्षित रूपमा चलाउने विषयमा समेत प्रयोगकर्तालाई सचेत गराउन कार्यक्रम केन्द्रित गरिएको छ।

‘लाखौँदेखि करोडौँ रुपैयाँसम्म खर्च गरेर सवारीसाधन खरिद गरिन्छ। तर सडकमा हुने एक सेकेन्डको लापरबाहीले ठूलो जनधनको क्षति हुन सक्छ,’ उनले भने, ‘त्यसैले ट्राफिक नियम पालना, गति नियन्त्रण र मादक पदार्थ सेवन गरी सवारी नचलाउने विषयमा सचेत गराइरहेका छौँ।’

स्टलमा ट्राफिक नियम, सडक संकेत, सडक रेखा तथा कुन अवस्थामा कुन रेखा पार गर्न मिल्ने वा नमिल्नेबारे पर्चा–पम्पलेटमार्फत जानकारी दिइएको छ। ट्राफिक प्रहरीले प्रयोग गर्ने विभिन्न सामग्रीसमेत प्रदर्शनीमा राखिएको छ।

दुर्घटनाका वास्तविक भिडियो मुख्य आकर्षण

स्टलको मुख्य आकर्षण भने सीसीटीभी क्यामेराबाट प्राप्त दुर्घटनाका वास्तविक भिडियो बनेका छन्। तीव्र गति, चालकको लापरबाही, गलत मोड तथा ट्राफिक नियम उल्लंघनका कारण भएका दुर्घटनाका दृश्य देखाएर आगन्तुकलाई सडक सुरक्षाबारे सचेत गराइएको छ।

मल्लका अनुसार भिडियो हेरेपछि धेरै आगन्तुकले सामान्य देखिने लापरबाहीले समेत गम्भीर दुर्घटना निम्त्याउन सक्ने महसुस गरेको प्रतिक्रिया दिएका छन्।

विशेषगरी शाखा सडकबाट मुख्य सडकमा प्रवेश गर्दा ‘रोक, हेर र जाऊ’ नियम पालना गर्न, गति नियन्त्रणमा राख्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा जथाभावी यू–टर्न र राइट टर्न नगर्न प्रहरीले आग्रह गरेको छ।

एक्स्पोमा आएका सर्वसाधारणले ट्राफिक व्यवस्थापनसम्बन्धी जिज्ञासा र गुनासासमेत राख्ने गरेका छन्। प्राप्त गुनासा सम्बन्धित ट्राफिक युनिटमा पठाउने गरिएको मल्लले बताए।

उनका अनुसार पहिलो दिन करिब २ हजार र दोस्रो दिन २ हजार ५ सय जनाले सचेतना स्टल अवलोकन गरेका थिए। तेस्रो दिन भने करिब ४ देखि ५ हजार जनाले स्टल तथा दुर्घटनाका भिडियो हेरेको प्रारम्भिक अनुमान छ।

‘फिल्म हल हाउसफुल भएजस्तै आज दिनभरि भिडियो हेर्न आउनेको भीड देखियो,’ मल्लले भने।

ट्राफिक प्रहरीले प्रत्येक व्यक्तिले स्वयं ट्राफिक नियम पालना गर्नुका साथै परिवार र साथीभाइलाई समेत नियम पालना गर्न प्रेरित गरे दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *