एजेन्सी । थाइल्यान्डले गत हप्ता विद्यालयमा भएको गोलीकाण्डपछि बन्दुक नियन्त्रणलाई थप कडा बनाउँदै लगेको छ । घटनामा १४ वर्षीय बन्दुकधारीसहित नौ जनाको मृत्यु भएको थियो।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नभिराकुलले मंगलबार देशव्यापी रूपमा हतियार नियन्त्रण कडा पार्न निर्देशन दिएका छन्।
उनले बन्दुक खरिद अनुमतिपत्र अस्थायी रूपमा निलम्बन गर्नुका साथै अवैध रूपमा राखिएका तथा कालोबजारीमार्फत कारोबार भइरहेका हतियारमाथि आपत्कालीन र दीर्घकालीन दुवै उपायमार्फत कडाइ गर्न निर्देशन दिएका छन्।
अगस्ट ७ मा बैंककको बाहिरी क्षेत्रमा रहेको एक माध्यमिक विद्यालयमा १४ वर्षीय विद्यार्थीले गोली चलाउँदा विद्यालय हिंसाको स्थलमा परिणत भएको थियो । घटनामा कम्तीमा नौ जनाको मृत्यु भयो भने २० जनाभन्दा बढी घाइते भए।
गोलीकाण्डमा १२ वर्षीया एक बालिका पनि घाइते भइन्। उनको खुट्टामा गोली अड्किएको थियो। बालिकाकी आमा येन्चित फोङफिताकले भनिन्, ‘मेरी छोरीले भनिन्, ‘कृपया पहिले मेरो शिक्षकको उपचार गरिदिनुहोस्। उहाँको अवस्था मेरोभन्दा गम्भीर छ।’
डाक्टरहरूले उनको खुट्टाभित्र गोली गहिरोसम्म पुगेको पत्ता लगाउन पटक–पटक एक्सरे गरेपछि शल्यक्रिया गर्नुपरेको थियो।
विद्यालयका विद्यार्थी, शिक्षक तथा जीवनका लागि संघर्ष गरिरहेका अन्य व्यक्तिहरू—कोही पनि यस्तो हिंसाका लागि तयार नभएको बताइन्छ ।
उनकी आमाले भनिन्, ‘उनले हाम्रो पारिवारिक च्याटमा सन्देश पठाएकी थिइन्। हामीलाई स्तब्ध बनाउने सन्देश थियो—‘म मर्न चाहन्नँ।’ निर्दोष मानिसहरूले भने ज्यान गुमाए । समाधान खोज्नुअघि अझ कति यस्ता दुःखद घटना हुनुपर्ने हो ?’
घटनाको केही दिनपछि, केही किलोमिटर टाढै अर्को गोलीकाण्ड भएको थियो। एक बन्दुकधारीले स्थानीय सरकारी कार्यालयमा एक सरकारी अधिकारीको हत्या गरेका थिए ।
थाइल्यान्डमा बन्दुक सहजै पाउन सकिन्छ । दक्षिणपूर्वी एसियामा बन्दुक स्वामित्वको दर उच्च भएका देशहरूमध्ये थाइल्यान्ड एक हो।
देशमा १ करोडभन्दा बढी बन्दुक चलनमा रहेको अनुमान छ, अर्थात् करिब प्रत्येक सात जनामध्ये एक जनासँग एउटा बन्दुक हुने गरेको छ । तर तीमध्ये करिब ४० प्रतिशत अवैध रहेको विश्वास गरिन्छ।सीसीटीभीप्लस)




