‘आरोपीले बयान दिने हो, प्रवचन दिने होइन’ : खगेन्द्र सुनार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई आफूले लगाएको आरोपबारे जवाफ दिनुको सट्टा प्रवचन दिएको टिप्पणी गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले प्रहरी संगठनमा भ्रष्टाचारको गम्भीर आरोप लागेको भन्दै आईजीपी कार्कीलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने माग गरेका थिए। जवाफमा कार्कीले आफूविरुद्ध लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिँदै सुनारलाई ‘पाषाणयुगीन सोच भएका शासक’को संज्ञा दिएका थिए।

त्यसपछि सुनारले समितिको बैठक बहिष्कार गरेर बाहिरिएका थिए। उनको कदमप्रति बैठकमा सहभागी अन्य सांसदसँगै रास्वपाकै सांसद गोविन्द पन्थीले समेत आलोचना गरेका थिए।

सुनारले सामाजिक सञ्जालमार्फत त्यसको जवाफ दिँदै आफू प्रहरीका तल्लो तहका कर्मचारीको पक्षमा रहेको बताएका छन्। उनले प्रहरी संगठनमा जुत्ता, मोजा, पोसाक र रासन खरिदमा अनियमितता भएको भन्दै गम्भीर प्रश्न उठाएका छन्।

‘म राष्ट्रसेवक प्रहरी सिपाही र दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा सदैव छु। तर गरिबका छोराछोरी म्यादी, सिपाही र हवलदार भएका छन्। उनीहरूका जुत्ता, मोजा, कट्टु र रासन खाएको अरबौँको गम्भीर मुद्दा परेको छ,’ उनले लेखेका छन्, ‘मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने होइन।’

उनले राज्यमा एक हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको उल्लेख गर्दै सार्वजनिक लेखा समितिको काम आर्थिक अनियमितता र भ्रष्टाचारका विषयमा प्रश्न उठाउनु रहेको बताएका छन्।

‘हामीले मुख मिठ्याउँदा जनताको मुख तितो हुन्छ। हामीले तितो बोल्दा भोका नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने धेरै तितो बोल्न बाँकी छ,’ सुनारले लेखेका छन्।

उनले प्रहरीको बर्दी र फुली देखाएर धम्क्याउँदैमा आफूले उठाएको विषय नरोकिने दाबीसमेत गरेका छन्। ‘बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनै पर्छ,’ उनले भनेका छन्।

यसअघि सभामुख, रास्वपा नेता तथा सांसदहरूले सुनारलाई विवादित विषयमा संयमित भएर अभिव्यक्ति दिन सुझाव दिएका थिए। तर सुनारले भने आफूले उठाएको विषयबाट पछि नहट्ने संकेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *