मदिरा पिएको प्रमाणित भए सांसद पदबाटै राजीनामा दिन्छु : सांसद शाही

काठमाडौँ । राप्रपा सांसद ज्ञानबहादुर शाहीले जन्मदेखि आजको दिनसम्म आफ्नो शरीरमा एक थोपा मदिरा प्रयोग भएको भए सांसद पदबाटै राजीनामा दिने घोषणा गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा सांसद शाहीले आफूविरुद्ध भ्रामक आरोपहरू फैलिरहेको जानकारी गराउँदै यस्तो घोषणा गरेका हुन् ।

मदिरा सेवन गरेर जे पनि बोल्यो, अश्लील भिडियोहरू आयो भन्ने खालका आरोपहरू आफूमाथि लागेको उनले बताए ।

सांसद शाहीले संसद्मा स्वास्थ्यकर्मी र चिकित्सकको टोली बोलाएर आफ्नो रगत र शरीरको प्रत्येक अङ्ग जाँच गर्न चुनौती दिए । ‘जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्र मेरो शरीरमा प्रयोग भएको देखिए म सांसद पदबाट राजीनामा दिन तयार छु,’ शाहीले भने, ‘होइन भने भ्रम फैलाउने र चरित्र हत्या गर्नेहरूलाई कारबाही गर्ने कि नगर्ने रु यसको जवाफ गृहमन्त्रीसँग माग्छु ।’

सामाजिक सञ्जालमा अर्कै व्यक्तिको अश्लील भिडियोलाई आफ्नो भन्दै प्रचार गरिएकोमा उनले आक्रोश व्यक्त गरे । ‘डिपफेक र नक्कली भिडियो बनाएर मेरो चरित्र हत्या गरियो, यसले मेरो परिवार, श्रीमती र छोरीको मानसिक अवस्थामा कस्तो असर पर्छ भन्ने कुरा कसैले सोचेको छ,’ शाहीले प्रश्न गरे । उनले यस्ता साइबर बुलिङका घटनामा संलग्नलाई कारबाही गर्न प्रहरी र सरकार किन मौन रहेको भन्दै प्रश्न उठाए ।

सांसद शाहीले आफूले कणालीका दुई दलित परिवारको मृत्यु र अन्य जनजीविकाका सवालमा आवाज उठाएका कारण आफूमाथि यस्ता योजनाबद्ध आक्रमणहरू भएको दाबी गरे । ‘मैले कणालीको पीडा उठाउँदा सरकारले त्यसको उत्तर दिनुको साटो मेरो चरित्र हत्या गरेर मलाई चुप लगाउन खोज्यो,’ उनले भने, ‘तर मेरो ज्यान गए पनि, राजनीतिक जीवन समाप्त भए पनि कणाली र पीडित जनताको आवाज उठाइरहनेछु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *