सुर्खेत। सुर्खेतलगायत कर्णाली प्रदेशमा देखिएको ग्यास अभाव समाधान गर्न नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग थप ग्यास माग गरेको छ। निगमले यसअघि ४९ हजार ५०० मेट्रिक टन माग गर्दै आएकोमा यसपटक ५५ हजार मेट्रिक टन ग्यास माग गरेको हो।
निगमका अनुसार असारदेखि ग्यासको माग बढे पनि सोहीअनुसार आपूर्ति हुन नसक्दा बजारमा अभाव देखिएको हो। साउन १ देखि २३ गतेसम्म सुर्खेतमा ४१ हजार ५१७ सिलिन्डर ग्यास वितरण भए पनि उपभोक्ताको लाइन घटेको छैन।
अभाव समाधानका लागि सुर्खेतमा आयोजित सर्वपक्षीय बैठकले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विद्यार्थी र सुत्केरीलाई प्राथमिकता दिँदै १० प्रतिशत ग्यास जगेडा राखेर वितरण गर्ने निर्णय गरेको छ। साथै, व्यवसायीसँग रहेका खाली सिलिन्डर तत्काल भर्ने र उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न आग्रह गरिएको छ।
सुर्खेतका ग्यास व्यवसायीले भने ४० हजारभन्दा बढी खाली सिलिन्डर रहेको भन्दै ती सिलिन्डर तत्काल भर्न आयल निगमसँग माग गरेका छन्। निगमले थप ग्यास आपूर्ति भएपछि अहिले देखिएको अभाव क्रमशः हट्ने जनाएको छ।






