रसुवा बाढीको प्रभाव: दसैँको मुखमै सुस्तायो ईभी बजार, सवारी साधनको व्यापार सङ्कटमा

काठमाडौं । अटोमोबाइल व्यवसायीका लागि दसैँ–तिहार वर्षकै सबैभन्दा ठूलो व्यापारिक सिजन हो। यही समयमा सवारीसाधनको माग बढ्ने र व्यवसायीले ठूलो कारोबार गर्ने गर्छन्। तर पछिल्ला केही वर्षयता मुख्य सिजनमै प्राकृतिक विपत्ति, आन्दोलन र सडक अवरोध झेल्दै आएको अटो बजार यसपटक पनि भोटेकोशी बाढी र पहिरोको चपेटामा परेको छ।

भदौमा नाडा अटो शोमार्फत बजारमा चहलपहल बढाउने प्रयास गरेका व्यवसायीलाई शो सुरु भएको भोलिपल्टै भोटेकोशी बाढीले धक्का दियो। बाढीले सडक र पुलमा क्षति पुर्‍याएपछि चीनसँग जोडिएका उत्तरी नाका हुँदै आउने सवारीसाधनको आयात तथा ढुवानी प्रभावित भएको छ। दसैँ नजिकिँदै गर्दा बजारमा उत्साह बढ्नुपर्ने भए पनि व्यवसायीहरू बुकिङ भएका गाडी समयमै ग्राहकलाई दिन सकिने हो कि होइन भन्ने चिन्तामा छन्।

व्यवसायीका अनुसार नेपालमा वर्षभरि बिक्री हुने कुल सवारीसाधनमध्ये करिब ४० देखि ५० प्रतिशत दसैँ–तिहारको समयमा बिक्री हुन्छ। त्यसैले यही सिजनमा हुने अवरोधले अटो व्यवसायको वार्षिक कारोबारमा समेत ठूलो असर पार्ने गर्छ।

मुख्य सिजनमै लगातार समस्या

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीका अनुसार बाढीपहिरोले प्रमुख राजमार्ग तथा चीनसँग जोडिएका उत्तरी नाका प्रभावित हुँदा दसैँ लक्षित गरेर ल्याइएका हजारौँ सवारीसाधन बाटोमै रोकिएका छन्। कतिपय सवारीसाधन बाढीमा परेर क्षतिग्रस्तसमेत भएका छन्।

रसुवागढी नाका हुँदै दसैँका लागि ल्याइएका कतिपय गाडी बाढीले बगाएको वा क्षति पुर्‍याएको उनले बताए। व्यवसायीले घटस्थापनादेखि फूलपातीसम्म ग्राहकलाई गाडी हस्तान्तरण गर्ने गरी बुकिङ लिएका छन्। तर सडक र नाका अवरुद्ध भएपछि समयमै गाडी दिन कठिन भएको उनको भनाइ छ।

भन्सार प्रक्रिया पूरा गरेर नेपाल प्रवेश गरिसकेका गाडी पनि सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौंलगायत मुख्य बजारसम्म ल्याउन सकिएको छैन। चीनबाट आउने विद्युतीय सवारीसाधनमा नेपाली बजारको निर्भरता बढिरहेका बेला उत्तरी नाका बन्द हुँदा समस्या झनै गम्भीर बनेको व्यवसायी बताउँछन्।

पछिल्ला तीन–चार वर्षदेखि अटो क्षेत्रले दसैँको सिजनमै कुनै न कुनै ठूलो अवरोध झेल्दै आएको छ। २०८१ असोजमा आएको बाढीपहिरो, २०८२ साउनमा रसुवामा आएको बाढी र गत वर्षको जेनजी आन्दोलनले पनि अटो बजार प्रभावित भएको देखिएको छ।

नाडाका पूर्व अध्यक्ष धुर्ब थापाकाअनुसार अहिलेको मुख्य समस्या चीनबाट हुने आयातमा परेको असर रहेको छ । रसुवागढी र तातोपानीबाट ठूलो मात्रामा सवारीसाधन आउने गरेकाले ती नाका प्रभावित हुँदा व्यवसायीको आपूर्ति शृंखला नै अवरुद्ध भएको छ।

चीनबाट आउने गाडी समुद्री मार्ग हुँदै भारतको कोलकाता बन्दरगाहबाट ल्याउने विकल्प भए पनि त्यसमा तीनदेखि चार महिना लाग्ने र ढुवानी खर्च अत्यधिक महँगो पर्ने भएकाले दसैँको मुखमा त्यो सम्भव नहुने उनको भनाई छ।

बुकिङ भइसके, डेलिभरीमा समस्या

अटो बजारमा दसैँ अफर सार्वजनिक भएसँगै हजारौँ ग्राहकले गाडी तथा मोटरसाइकल बुकिङ गरिसकेका छन् । धेरै ग्राहकले त नाईमा मोबिलिटी एक्स्पो र नाडा अटोमै बुकिङ गरिसकेका छन् । धेरै मानिस दसैँ–तिहारमा सवारी साधनहरूले अफर दिने हुँदा त्यही समयमा खरिद गर्छन् ।

तर यो वर्ष भोटेकोशी बाढीपछिको विपद् र बाढी पहिरोका कारण बुकिङ गरिएका सवारी साधन समयमा दिन नसक्ने अवस्था आएको व्यवसायी बताउँछन् ।

दसैँको शुभ साइतमा गाडी दिने गरी बुकिङ लिइएको भए पनि सडक अवरोधका कारण समयमै हस्तान्तरण गर्न सकिने हो कि होइन भन्ने चिन्ता व्यवसायीहरुमा देखिएको छ । ग्राहकले रकम बुझाइसकेका वा बैंकबाट कर्जा स्वीकृत गराइसकेका अवस्थामा गाडी बाटोमै रोकिँदा व्यवसायीलाई समेत समस्या भएको उनीहरु बताउँछन्। जसका कारण सडक सञ्जाल तत्काल सञ्चालनमा नआए बुकिङ रद्द हुने र त्यसले कम्पनीको नगद प्रवाहमा समेत असर पार्ने देखिएको छ।

यसपटक व्यवसायीले बजार गुम्ने जोखिम मात्र होइन, सवारीसाधनमै प्रत्यक्ष क्षति बेहोरेका छन्।  दसैँको माग धान्न ठूलो संख्यामा गाडी ल्याइरहेको समयमा बाढीले क्षति पुर्‍याउँदा कम्पनीलाई ठूलो आर्थिक नोक्सानी भएको आंकलन गरिएको छ।

मुख्य (उत्तरी) नाकामै अवरोध

भन्सार विभागको भदौ महिनाको तथ्यांकले नेपाली अटो बजारमा विद्युतीय सवारीसाधनको माग तीव्र रूपमा बढेको देखाएको छ। भदौमा नेपालमा आयात भएका २ हजार ६ सय ३२ युनिट प्यासेन्जर कार, जीप तथा भ्यानमध्ये २ हजार १ सय ४५ युनिट ईभी थिए। कुल आयातमा ईभीको हिस्सा ८१.५ प्रतिशत पुगेको छ।

भदौमा मात्रै ५ अर्ब ९ करोड रुपैयाँ बराबरका ईभी आयात भएका छन्। साउनमा ६ सय ८९ युनिट ईभी आयात भएकोमा भदौमा संख्या तीन गुणाभन्दा बढी पुगेको हो। यी ईभीबाट सरकारले ३ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भने २ हजार ८ सय ३४ युनिट ईभी आयात भएका छन्। ती सवारीसाधनको मूल्य ६ अर्ब ७० करोड रुपैयाँ बराबर छ भने राज्यले ४ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

यसको तुलनामा भदौमा पेट्रोल, डिजेल र हाइब्रिड गरी जम्मा ४ सय ८७ युनिट कार आयात भएका छन्। यसले नेपाली अटो बजार ईभीतर्फ तीव्र रूपमा मोडिएको देखाउँछ। तर, ईभीको ठूलो हिस्सा चीनबाट आउने भएकाले उत्तरी नाका र सडक अवरोधले यसको आपूर्ति प्रणालीमै जोखिम बढाएको छ।

व्यवसायीहरूले तत्काल अवरुद्ध सडक सञ्चालन गर्न, सडक विभाग तथा सुरक्षा निकाय परिचालन गर्न र चीनसँग वार्ता गरी रसुवागढी तथा तातोपानी नाका सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार तत्काल सडक र नाका खोल्नुका साथै भविष्यमा एउटै मार्ग र नाकामाथिको निर्भरता घटाउने वैकल्पिक ढुवानी प्रणाली विकास गर्न आवश्यक छ।

लगातार मुख्य सिजनमै विपत्ति र अवरोध झेलिरहेको अटो बजारका लागि यसपटकको चुनौती बिक्रीभन्दा पनि आपूर्ति व्यवस्थामा देखिएको छ। समयमै सडक र नाका सञ्चालन हुन नसके त्यसको असर व्यवसायीको कारोबारसँगै ग्राहकको बुकिङ र सरकारको राजस्वमा समेत पर्न सक्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *