काठमाडौं। प्रभु बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले बैंकको वित्तीय अवस्था थप दबाबमा परेको देखाएको । दोस्रो त्रैमासको तुलनामा बैंकका अधिकांश प्रमुख वित्तीय सूचकहरू नकारात्मक देखिएका छन्। कर्जा लगानी, निक्षेप, कुल सम्पत्ति, नाफा तथा पूँजीगत सूचकहरू कमजोर बन्दै जाँदा बैंकको समग्र वित्तीय स्वास्थ्यप्रति चिन्ता बढाएको छ।
विवरणअनुसार बैंकको कर्जा एकै त्रैमासमा करिब रु. ५.४४ अर्बले घटेको छ। दोस्रो त्रैमासमा रु. २२७.३२ अर्ब कर्जा लगानी भएकोमा तेस्रो त्रैमासमामा आईपुग्दा यो घटेर रु. २२१.८८ अर्बमा सीमित भएको छ। कर्जा विस्तार बैंकको आम्दानीको प्रमुख आधार मानिन्छ। तर, एकै त्रैमासमा यति ठुलो मात्रामा कर्जा घट्नुले बैंकको व्यवसाय विस्तारमा सुस्ताएको, बैंकका गुणस्तरीय ग्राहक बाहिरिएको तथा नयाँ ग्राहकलाई आकर्षित गर्न बैंक असफल भइरहेको देखाउँछ।
५.२८ अर्बले घट्यो निक्षेप
त्यसैगरी यस अवधिमा ग्राहक निक्षेप पनि करिब रु ५.२८ अर्बले घटेको छ। दोस्रो त्रैमासमा रु. ३४०.४५ अर्ब रहेकोमा यो घटेर रु. ३३५.१७ अर्बमा झरेको छ। निक्षेपमा आएको भारी गिरावटले ग्राहकको विश्वास, प्रतिस्पर्धी क्षमता तथा तरलता व्यवस्थापनमा चुनौती बढ्दै गएको देखाउँछ।
यतिमात्र नभई यस अवधिमा बैंकको कुल सम्पत्ति समेत करिब रु. ८.१७ अर्बले घटेको छ, जसले बैंकको समग्र व्यवसायिक आकार नै संकुचित हुँदै गएको देखाउँछ। दोस्रो त्रैमासमा रु . ४१२.८४ अर्ब कुल सम्पति रहेको बैंकको सम्पति घटेर रु. ४०४.६७ अर्बमा झरेको छ। नयाँ व्यवसाय विस्तारको नहुनु तथा यसको आकार खुम्चिनु कुनै पनि बैंकका लागि सकारात्मक संकेत मानिँदैन।
एनपीएल’ को अवस्था डरलाग्दो, २७ प्रतिशत पुगेको दावी
बैंकको सबैभन्दा डरलाग्दो र चिन्ताजनक पक्ष निष्क्रिय कर्जा हो। बैंकले सार्वजनिक गरेको वित्तीयविवरणअनुसार पनि खराब कर्जा ७.९४ प्रतिशतबाट बढेर ८.८४ प्रतिशत पुगेको देखिएको छ। यसले बैंकको सम्पत्ति गुणस्तर निरन्तर खस्किँदै गएको तथा कर्जाको जोखिम बढ्दै गएको स्पष्ट संकेत गर्छ। तर, बैंकका उच्च स्रोतका अनुसार यो खराब कर्जा वास्तविक होइन। राष्ट्र बैंकलाइ वास्तविक विवरण लुकाएर बृफिङ गर्ने गरिएको छ। राष्ट्र बैंकले पनि बैंककै विवरणलाई प्रमाणित गर्दै आएको छ।
प्रभु बैंकको सबैभन्दा संवेदनशील विषयमध्ये निष्क्रिय कर्जा अर्थात् एनपीए नै हो। सार्वजनिक विवरणमा उल्लेख गरिएको खराव कर्जा अनुपात नै बैंकिङ क्षेत्रमा चिन्ताको विषय बन्ने स्तर हो ।
त्यसमाथि सार्वजनिक तथ्यांकभन्दा वास्तविक NPA अझै उच्च रहेको बैंक स्रोतकै दावी छ। स्रोतका अनुसार राष्ट्र बैंकले निस्पक्ष रुपमा अनुगमन गर्ने हो भने बैंकको निष्क्रिय कर्जा अनुपात २७ प्रतिशतसम्म पुग्न सक्छ।
बैंकद्वारा प्रकाशित गरिँदै आएका वित्तीय विवरण र वास्तविक कर्जाको अवस्थाबीच ठूलो अन्तर रहेको स्रोत बताउँछ। जसका कारण पनि वास्तविकता परीक्षणका लागि राष्ट्र बैंकमाथी दवाव बढिरहेको छ।
यद्यपि वास्तविक NPA सार्वजनिक गर्दा बैंक डुब्ने खतरा रहेकाले उक्त बिषय गुपचुप राख्न राष्ट्र बैंककै अधिकारीहरुको सहयोग रहेको बताइएको छ।
खराब कर्जा बढेकै कारण बैंकले कर्जा तथा अन्य सम्भावित नोक्सानीवापतको चार्ज अर्थात इम्पेरिमेन्ट चार्ज पनि उल्लेखनीय रूपमा बढाइएको विवरणले देखाउँछ । यसले आगामी अवधिमा समेत नाफामा थप दबाब पर्ने संकेत गर्छ।
त्रैमासिक नाफामै ५८ % को गिरावट
बैंकको नाफा आर्जन गर्ने क्षमता पनि उल्लेखनीय रूपमा कमजोर बनेको छ। बैंकको त्रैमासिक खुद नाफा झन्डै ५८ प्रतिशतले घटेको छ। दोस्रो त्रैमासमा ५१.६ करोड खुद नाफा रहेको बैंकको नाफा घटेर तेस्रो त्रैमासमा २१.५ करोडमा सीमित भएको छ। नाफामा आएको भारी गिरावटले सञ्चालन खर्च, जोखिम व्यवस्थापन तथा आम्दानीको स्रोतमा प्रत्यक्ष दबाब बढेको देखाउँछ।
पूँजीगत अवस्थातर्फ पनि बैंकको सुधारभन्दा कमजोरी देखिएका छन् । समिक्षा अवधिमा बैंकको क्यापिटल एडुकेसी रेसियो (CAR), Tier-1 Capital तथा CET-1 Ratio सबै घटेका छन्। यस अवधिमा सीइटी रेसियो ८.६८ प्रतिशतको बिन्दुबाट घटेर ८.५७ प्रतिशतमा झरेको छ। यी महत्वपूर्ण सूचकमा आएको गिरावटले बैंकको पूँजीगत आधार कमजोर बन्दै गएको र भविष्यमा सम्भावित वित्तीय जोखिम सामना गर्ने क्षमता घट्दै गएको स्पष्ट संकेत गर्छ।
त्यसैगरी समिक्षा अवधिमा बैंकको कर्जा नोक्सानी कभरेज अनुपात १११.७१ प्रतिशतबाट घटेर १०९.०८ प्रतिशतमा झरेको छ। जसले निष्क्रिय कर्जाको तुलनामा कर्जाको प्रोभिजन सुरक्षा स्तर कमजोर बन्दै गएको देखाउँछ।
तेस्रो त्रैमासिक विवरणअनुसार शेयरधनीको प्रतिफलसमेत उल्लेखनीय रूपमा घटेको छ। यस अवधिमा बैंकको रिटर्न अन ‘इक्विटी (ROE) ५.५६ प्रतिशतबाट घटेर ३.३० प्रतिशतमा झरेको छ। यसले लगानीकर्ताले प्राप्त गर्ने प्रतिफल कमजोर बनेको देखाउँछ । त्यस्तै यस अवधिमा रिटर्न अन एसेट्स (ROA)०.४९ प्रतिशतबाट ०.२८% ले घटेर ०.२८ प्रतिशतमा सीमित भएको छ। यसबाट बैंकले आफ्नो सम्पत्तिको प्रभावकारी उपयोग गरी नाफा कमाउन नसकेको स्पष्ट देखिन्छ।
समग्रमा दोस्रो र तेस्रो त्रैमासिक वित्तीय विवरणको तुलनात्मक अध्ययनले प्रभु बैंकका अधिकांश प्रमुख सूचकहरू निरन्तर कमजोर बन्दै गएको देखाएको छ। कर्जा र निक्षेपमा गिरावट, निष्क्रिय कर्जामा देखिएको उल्लेखनीय वृद्धि, नाफामा आएको भारी गिरावट, कमजोर पूँजीगत आधार तथा खस्किँदै गएको सम्पत्तिको गुणस्तर लगायत मुख्य सूचकहरूको तीव्र संकुचनले बैंकको वित्तीय अवस्था अत्यन्त नाजुक अवस्थामा रहेको संकेत गरेका छन्।
प्रभु बैंकको दोस्रो त्रैमास (Q2) र तेस्रो त्रैमास (Q3) बीच प्रमुख वित्तीय सूचकको तुलना:
| वित्तीय सूचक | Q2 | Q3 | Difference (Q3−Q2) |
|---|---|---|---|
| कुल सम्पत्ति | रु. ४४२.४८ अर्ब | रु. ४०८.६३ अर्ब | −रु. ३३.८५ अर्ब |
| ग्राहक निक्षेप | रु. ३४०.४५ अर्ब | रु. ३३५.९३ अर्ब | −रु. ४.५२ अर्ब |
| ग्राहक कर्जा | रु. २२७.३२ अर्ब | रु. २२८.८८ अर्ब | +रु. १.५६ अर्ब |
| नगद तथा नगद सरह | रु. ४.८४ अर्ब | रु. १०.६५ अर्ब | +रु. ५.८१ अर्ब |
| नेपाल राष्ट्र बैंकमा मौज्दात | रु. ४६.६३ अर्ब | रु. १९.४७ अर्ब | −रु. २७.१६ अर्ब |
| Placement with BFIs | रु. ८.७१ अर्ब | रु. ६.९१ अर्ब | −रु. १.८० अर्ब |
| लगानी | रु. ८५.०४ अर्ब | रु. ११३.९२ अर्ब | +रु. २८.८८ अर्ब |
| कुल दायित्व | रु. ३७०.७५ अर्ब | रु. ३६५.९० अर्ब | −रु. ४.८५ अर्ब |
| कुल इक्विटी | रु. ३५.३० अर्ब | रु. ३४.७० अर्ब | −रु. ०.६० अर्ब |
| सञ्चालन आम्दानी (YTD) | रु. ६.७२ अर्ब | रु. १०.३५ अर्ब | +रु. ३.६३ अर्ब |
| सञ्चालन नाफा (YTD) | रु. १.४४ अर्ब | रु. २.६७ अर्ब | +रु. १.२३ अर्ब |
| कर अघिको नाफा (YTD) | रु. १.४४ अर्ब | रु. २.६७ अर्ब | +रु. १.२३ अर्ब |
| खुद नाफा (YTD) | रु. ०.९९ अर्ब | रु. २.२० अर्ब | +रु. १.२१ अर्ब |
| त्रैमासिक खुद नाफा | रु. ५८.६ करोड | रु. २२.५ करोड | −रु. ३६.१ करोड |
| EPS | ११.७० | ११.०४ | −०.६६ |
| NPL | ७.९४% | ८.८४% | +०.९० प्रतिशत |
| Net NPL | २.७९% | १.७९% | −१.०० प्रतिशत |
| Loan Loss Coverage | १११.९१% | १०४.०८% | −७.८३ प्रतिशत |
| CAR | १२.३१% | १२.२४% | −०.०७ प्रतिशत |
| Tier-1 | ८.६८% | ८.४९% | −०.१९ प्रतिशत |
| CET-1 | ८.६८% | ८.४९% | −०.१९ प्रतिशत |
| ROA | ०.८४% | ०.६२% | −०.२२ प्रतिशत |
| ROE | ५.४५% | ३.३०% | −२.१५ प्रतिशत |
| Cost of Funds | ३.४५% | ३.३३% | −०.१२ प्रतिशत |
| Base Rate | ५.३६% | ४.८४% | −०.५२ प्रतिशत |
| Interest Rate Spread | ३.६०% | ३.८८% | +०.२८ प्रतिशत |
| Credit to Deposit Ratio | ७०.९८% | ७०.६५% | −०.३३ प्रतिशत |
| Borrowings | रु. ०.७२ अर्ब | रु. ०.५६ अर्ब | −रु. ०.१६ अर्ब |




