ढोरपाटनमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै पुगे ३७ हजार

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा ३७ हजार ५२० पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये ३७ हजार २७० नेपाली पर्यटक रहेका छन् ।

गत आर्थिक वर्षमा २३ हजार ६९२ पर्यटक पुगेकामा यस वर्ष करिब १३ हजारले वृद्धि भएको हो । पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार, पदयात्रा मार्गको विकास तथा होटल र घरबासको विस्तारले पर्यटक आगमन बढेको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।

पर्यटक बढेसँगै आरक्षको राजस्व पनि वृद्धि भएको छ । आव २०८२/८३ मा पर्यटक प्रवेश शुल्कबाट ४७ लाख ६८ हजार ४०५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्ष यस्तो राजस्व ३१ लाख २१ हजार ५०० रुपैयाँ थियो ।

पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकीपाटन, बुकीफूल र जलजला आन्तरिक पर्यटकका प्रमुख आकर्षण बनेका छन् । समुद्री सतहदेखि दुई हजार ९०० मिटर उचाइमा रहेको ढोरपाटनदेखि चार हजार मिटरभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *