काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना हुने भएको छ। नेपाली पात्रोअनुसार प्रतियोगिता कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको प्रतियोगिता उक्त मितिमा आयोजना गर्ने तयारी अघि बढाएको हो। यससँगै नेपाली क्रिकेटको घरेलु फ्रेन्चाइज प्रतियोगिता एनपीएलको तेस्रो संस्करणका लागि बाटो खुलेको छ।
यसपटकको एनपीएलमा सहभागी फ्रेन्चाइज टोलीहरूले आफ्नो टोली निर्माणको प्रक्रिया अघि बढाइसकेका छन्। खेलाडी अक्सन सम्पन्न भइसकेकाले अब टोलीहरू विदेशी खेलाडी अनुबन्धन तथा प्रतियोगिताका लागि आवश्यक तयारीमा केन्द्रित हुनेछन्।
एनपीएलको पछिल्लो संस्करणले नेपाली क्रिकेटप्रति घरेलु तथा अन्तर्राष्ट्रिय स्तरमा थप आकर्षण बढाएको थियो। नेपाली खेलाडीले विदेशी खेलाडीसँग एउटै प्रतियोगितामा खेल्ने अवसर पाउने भएकाले एनपीएललाई खेलाडीको क्षमता विकास र अनुभवका दृष्टिले पनि महत्वपूर्ण मानिँदै आएको छ।
तेस्रो संस्करणमा पनि जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछन्।
प्रतियोगिताको मिति सार्वजनिक भएसँगै क्रिकेट समर्थकहरूमा एनपीएलको तेस्रो संस्करणप्रति उत्साह बढेको छ। अब समर्थकहरू आफ्नो मनपर्ने टोलीको समर्थनमा सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन्।
एनपीएलको तेस्रो संस्करणमा कुन टोलीले उपाधि जित्ला भन्ने चासोसमेत बढेको छ। आगामी प्रतियोगितामा नेपाली क्रिकेटका नयाँ तथा स्थापित खेलाडीको प्रदर्शनसँगै विदेशी खेलाडीको उपस्थितिलाई पनि विशेष रूपमा हेरिनेछ।




