साढे पाँच महिनापछि नेपाल फर्किँदै देउवा, आरजु हङकङमै रहने

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनअघि नेपालबाट बाहिरिएको साढे पाँच महिनापछि स्वदेश फर्किने भएका छन्।

देउवा साउन २८ गते बैंकक हुँदै काठमाडौं आइपुग्ने तयारीमा छन्। उनकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा भने तत्काल हङकङमै रहने बताइएको छ।

निर्वाचनअघि २०८२ फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानबाट देउवा सिंगापुर गएका थिए। त्यसबेला भारतमा रहेकी आरजु पनि उतैबाट सिंगापुर पुगेकी थिइन्। त्यसपछि थप उपचारका लागि भन्दै देउवा दम्पती २०८२ चैत ७ गते (२१ मार्च २०२६) सिंगापुरबाट हङकङ पुगेका थिए।

हङकङ पुगेयता देउवा दम्पती छोरा–बुहारीसहित त्यहीँ बस्दै आएका थिए। उनीहरू चीन सरकारको ‘रेखदेख’मा हङकङमा रहेको दाबी कांग्रेसनिकट स्रोतहरूले गर्दै आएका छन्।

यसबीच सर्वोच्च अदालतले नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा दायर मुद्दा पुनरवलोकन गर्ने निर्णय गरेपछि देउवा नेपाल फर्किन लागेका हुन्। अदालतको निर्णयसँगै कांग्रेसभित्रको राजनीतिक गतिविधि पनि थप तीव्र हुने अपेक्षा गरिएको छ।

देउवा साउन २८ गते दिउँसो काठमाडौंस्थित विमानस्थलमा ओर्लिएपछि उनका समर्थक तथा कांग्रेस कार्यकर्ताले भव्य स्वागत गर्ने तयारी गरेका छन्। लामो समयदेखि विदेशमा रहेका देउवाको स्वदेश फिर्तीलाई कांग्रेसभित्रको आगामी राजनीतिक गतिविधिसँग जोडेर हेरिएको छ।

देउवा फर्किएको भोलिपल्ट अर्थात् साउन २९ गतेदेखि देउवा पक्षले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सर्वोच्च अदालतको पछिल्लो निर्णय र पार्टीको वैधानिकतासम्बन्धी विवादका बीच हुन लागेको भेलालाई कांग्रेसभित्रको शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ।

आरजु भने तत्काल नेपाल नफर्किने र केही समय हङकङमै रहने बताइएको छ। देउवा नेपाल फर्किएपछि कांग्रेसको आन्तरिक राजनीति र संगठनात्मक गतिविधिमा उनको सक्रियता कस्तो रहन्छ भन्ने विषयमा पनि पार्टीभित्र चासो बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *