काठमाडौं । कुखुराको मासुको मूल्य फेरि बढेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागू हुने गरी जिउँदो तथा तयारी कुखुराको नयाँ मूल्य निर्धारण गरेको हो।
संघका अनुसार जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएर २४० रुपैयाँ कायम गरिएको छ। यसअघि यसको मूल्य २३० रुपैयाँ थियो।
त्यस्तै, तयारी कुखुराको मासुको मूल्य पनि प्रतिकिलो १५ रुपैयाँले बढेको छ। नयाँ मूल्यअनुसार तयारी मासु प्रतिकिलो ३३० रुपैयाँमा बिक्री हुनेछ। यसअघि यसको मूल्य ३१५ रुपैयाँ रहेको थियो।
पशुसेवा विभागले १ साउनदेखि बर्डफ्लुको संक्रमण नदेखिएको बताएको छ । बर्डफ्लु संक्रमण हटेसँगै कुखुरा मासुको मूल्य बढ्न थालेको हो । व्यापारीहरूले रोगका कारण धेरै कुखुरा मरेको र यसले उत्पादन घटेको भन्दै मूल्य बढाइरहेका छन् ।




