नेपाली सेनाको नयाँ तलबमान : प्रधानसेनापतिदेखि सिपाहीसम्मको तलब कति?

काठमाडौँ । नेपाल सरकारले नेपाली सेनाका विभिन्न दर्जाका सैनिकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालय, बजेट तथा कार्यक्रम महाशाखाले साउन १ गतेदेखि लागू हुने गरी नेपाली सेनाका विभिन्न दर्जाका सैनिकहरूको नयाँ तलब र सुविधा निर्धारण गरेको हो ।

नयाँ तलबमानअनुसार नेपाली सेनाको सर्वोच्च पद प्रधान सेनापतिको मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। यसअघि ८४ हजार ९ सय ३२ रुपैयाँ रहेको सुरुवाती तलबमा ग्रेड वृद्धि भएपछि उक्त रकम कायम भएको हो। त्यस्तै, रथीको तलब ८७ हजार ८५ रुपैयाँ र उपरथीको ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ।

अधिकारी तहमा सहायक रथीको तलब ७८ हजार २ सय २० रुपैयाँ, महासेनानीको ७२ हजार ८ सय ७६ रुपैयाँ र प्रमुख सेनानीको ६९ हजार ९ रुपैयाँ कायम गरिएको छ। सेनानीले ६७ हजार ९ सय ७ रुपैयाँ, सह-सेनानीले ६२ हजार ३ सय १५ रुपैयाँ, उप-सेनानीले ५९ हजार ५ सय ३७ रुपैयाँ तथा सहायक सेनानीले ४८ हजार ५८ रुपैयाँ मासिक तलब पाउनेछन्।

जुनियर कमिसन्ड अफिसर (जेसीओ) तर्फ प्रमुख सुवेदारको तलब ४९ हजार ६ सय ७ रुपैयाँ, सुवेदारको ४७ हजार १ सय १४ रुपैयाँ र जमदारको ४३ हजार ३ सय ७२ रुपैयाँ निर्धारण गरिएको छ।

तल्लो तहका सैनिकमध्ये हुद्दाको तलब ३७ हजार ६ सय ४८ रुपैयाँ, अमलदारको ३७ हजार ४ सय ५७ रुपैयाँ र प्यूठको ३७ हजार १ सय १३ रुपैयाँ कायम गरिएको छ। आधारभूत पद सिपाहीको मासिक तलब ३६ हजार ३ सय ३८ रुपैयाँ पुगेको छ भने रिक्रुटको तलब २७ हजार १ सय ७२ रुपैयाँ निर्धारण गरिएको छ। विभिन्न श्रेणीका फलोअर्सको तलब भने दर्जाअनुसार करिब २८ हजारदेखि ४० हजार रुपैयाँसम्म कायम गरिएको छ।

विमान सम्भार समूहका प्राविधिक सैनिकहरूको तलब पनि सोही अनुपातमा वृद्धि गरिएको छ। यसअन्तर्गत पाइलट उपरथीको तलब ९० हजार ५ सय ९ रुपैयाँसम्म पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *