सरकारले स्वीकृत गर्‍यो कर्मचारीको नयाँ तलबमान, मुख्यसचिव र प्रधानसेनापतिको तलब ९० हजार नाघ्यो

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको तलब वृद्धिअनुसार राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको हो।

नयाँ तलबमानअनुसार मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको मासिक तलब समान ९० हजार ५ सय ९४ रुपैयाँ पुगेको छ। यसअघि उनीहरूको सुरु तलबमान ८४ हजार ९ सय ३२ रुपैयाँ रहेको थियो।

यस्तै, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक तथा नेपाल सरकारका सचिवहरूको मासिक तलब ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ।

सरकारी सेवामा सबैभन्दा कम तलब पाउने प्रथम स्तरका कार्यालय सहयोगीको मासिक तलब २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको छ। श्रेणीविहीन कर्मचारी (हल्कारा, हुलाकी र कार्यालय सहयोगी) को सुरु तलबमान २७ हजार १ सय ७२ रुपैयाँ रहेकोमा ग्रेड थपिएपछि कुल तलब उक्त रकम पुगेको हो।

सरकारले तलब वृद्धिसँगै कर्मचारीहरूका लागि मासिक १० प्रतिशत प्रोत्साहन भत्ता को व्यवस्था पनि गरेको छ। अर्थ मन्त्रालयका अनुसार एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि भएको तलबमानको १० प्रतिशत रकम मासिक रूपमा प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइनेछ।

सामुदायिक विद्यालयका शिक्षकहरूको तलब पनि वृद्धि गरिएको छ। नयाँ व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब ७४ हजार ९ सय ५८ रुपैयाँ पुगेको छ भने प्राथमिक तहका शिक्षकको न्यूनतम तलब ३४ हजार ४ सय २६ रुपैयाँ कायम गरिएको छ। स्वास्थ्य सेवातर्फ अधिकृत बाह्रौँ तहको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ।

यसैगरी, सरकारले अवकाशप्राप्त कर्मचारीहरूको पेन्सनमा पनि १० प्रतिशत वृद्धि गरेको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ तलबमान र बढेको पेन्सन २०८३ साउन १ गतेदेखि लागू भइसकेको छ र सबै सरकारी निकायलाई सोहीअनुसार भुक्तानी गर्न निर्देशन दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *