काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटेल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। प्रशासनले धुम्रपानका लागि छुट्टै स्थानको व्यवस्था गर्न र ऐनले तोकेका मापदण्ड अनिवार्य रूपमा पालना गर्न भनेको हो।
बुधबार जारी सूचनाअनुसार सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ बमोजिम धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउनुपर्नेछ। धुम्रपानका लागि छुट्याइएको स्थान चारैतिरबाट बन्द हुनुपर्ने तथा त्यहाँबाट निस्कने धुवाँ अन्य व्यक्तिमा नपुग्ने गरी व्यवस्थापन गर्न प्रशासनले निर्देशन दिएको छ।
प्रशासनले कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँगको समन्वयमा नियमित अनुगमन गरिने जनाएको छ। अनुगमनका क्रममा ऐनविपरीत धुम्रपानको व्यवस्था गरेको वा कानुनी प्रावधानको पालना नगरेको पाइएमा सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्वास्थ्य संरक्षणका लागि सबै होटेल तथा रेस्टुरेन्ट सञ्चालकलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।




