मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा बेलीब्रिज बन्ने, दोमुख–सिनेखर्कका बासिन्दामा उत्साह

मुगु ।मुगु र हुम्लालाई जोड्ने कर्णाली नदीमाथि दोमुख–सिनेखर्क क्षेत्रमा बेलीब्रिज निर्माण प्रक्रिया अघि बढाइएको छ। लामो समयदेखि अलपत्र रहेको दोमुख मोटरेबल पुलको विकल्पका रूपमा बेलीब्रिज जडान गरिने भएपछि स्थानीयवासी उत्साहित भएका छन्।

सोरु गाउँपालिका–१० र ११ अन्तर्गत पर्ने दोमुख क्षेत्रमा बेलीब्रिज निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको पहलमा बेलीब्रिज जडानका लागि आवश्यक संरचना निर्माण, जडान तथा ढुवानी खर्च गाउँपालिकाले नै व्यहोर्ने प्रतिबद्धतासहित सडक विभागमा प्रस्ताव पेस गरिएको थियो।

त्यसपछि कर्णाली प्रदेश सरकार, सडक विभाग र सम्बन्धित निकायबीच भएको समन्वयमा हुम्लाको खार्पुनाथ गाउँपालिका अन्तर्गत चुवाखोलास्थित कर्णाली नदीमा रहेको बेलीब्रिज दोमुखमा स्थानान्तरण गर्ने सहमति भएको छ। २०८३ साउन १४ गते भएको सहमतिअनुसार सडक विभागले बेलीब्रिज उपलब्ध गराउने र त्यसको जडान तथा आवश्यक संरचना निर्माणको खर्च सोरु गाउँपालिकाले व्यहोर्ने निर्णय भएको जनाइएको छ।

बेलीब्रिज सञ्चालनमा आएपछि सोरु गाउँपालिकाको धैन क्षेत्र, हुम्लाको अदान्चुली गाउँपालिका तथा कर्णाली करिडोरसँग जोडिएका बस्तीका नागरिकलाई वर्षौंदेखिको यातायात समस्या समाधान हुने अपेक्षा गरिएको छ। वर्षायाममा कर्णाली नदीमा पानीको बहाव बढ्दा स्थानीयले शिक्षा, स्वास्थ्य, व्यापार, आपत्कालीन सेवा तथा दैनिक आवतजावतमा कठिनाइ भोग्दै आएका छन्।

स्थानीयका अनुसार पुल सञ्चालनमा आएपछि कर्णाली करिडोर हुँदै रारा जाने छोटो मार्गसमेत सहज हुनेछ। यसबाट पर्यटकको आवागमन बढ्नुका साथै स्थानीय उत्पादनको बजारीकरण, व्यापार विस्तार र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

दोमुख मोटरेबल पुल लामो समयदेखि निर्माण अलपत्र परेपछि तत्काल नागरिकलाई सहज आवतजावतको सुविधा उपलब्ध गराउने उद्देश्यले बेलीब्रिज निर्माणको विकल्प अघि सारिएको हो।

बेलीब्रिज निर्माणका लागि सोरु गाउँपालिका, सडक विभाग, पूर्वाधार विकास कार्यालय मुगु, जिल्ला समन्वय समिति मुगु, कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय तथा संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच समन्वय भएको जनाइएको छ।

स्थानीयवासीले बेलीब्रिज निर्माण प्रक्रिया अघि बढेकोमा सम्बन्धित निकाय र पहलकर्ताप्रति आभार व्यक्त गर्दै पुल सञ्चालनमा आएपछि मुगु र हुम्लाका हजारौं नागरिकको दैनिकी सहज हुने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *