काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ग्लोबल आइएमई बैंकले ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २२.६७ प्रतिशत बढी हो । त्यसबेला बैंकले ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी १६ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ भने बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १२ रुपैयाँ २ पैसा कायम भएको छ ।
बैंकको चुक्ता पूँजी ३६ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कुल सम्पत्तिको आकार ८ खर्ब २० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जा ४.८६ प्रतिशत थियो ।




