काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई घरबाटै कर्जा आवेदन दिने सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ।
सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअनुसार बैंकले उक्त सेवा सुरु गरेको जनाएको छ।
बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार कर्जा प्रक्रियाबारे ग्राहकमा रहने जिज्ञासा र अन्योल हटाउन डिजिटल माध्यमबाट आवेदन दिने व्यवस्था गरिएको हो।
उनका अनुसार अब ग्राहकले बैंकको आधिकारिक वेबसाइटमार्फत ‘अनलाइन लोन एप्लिकेसन’ लिंकमा प्रवेश गरी ‘आरबीबी स्मार्ट लेन्डिङ डिजिटल लोन पोर्टल’बाट कर्जा आवेदन दिन सक्नेछन्।
‘यस सेवाले कर्जा प्रक्रियालाई छिटो, सहज र पारदर्शी बनाउने विश्वास लिएका छौं,’ रेग्मीले भने।
बैंकका अनुसार पोर्टल प्रयोग गर्न ग्राहकले इमेल, प्रयोगकर्ता नाम (युजरनेम) र पासवर्ड राखेर ‘युजर रजिस्ट्रेसन’मार्फत दर्ता गर्नुपर्नेछ।
त्यसपछि आवश्यक विवरण र कागजात अपलोड गरी अनलाइनबाटै कर्जा आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।






